टेक दिग्गज कम्पनी ‘एप्पल’ को नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ) का रूपमा जिम्मेवारी सम्हालेलगत्तै जोन टर्नस सामाजिक सञ्जाल ‘एक्स’ (ट्विटर) मा छाएका छन्। झन्डै १५ वर्षसम्म एप्पलको सफल नेतृत्व गरेका टिम कुकले पद छाडेपछि गत १ सेप्टेम्बरदेखि टर्नसले औपचारिक रूपमा कम्पनीको कमान सम्हालेका हुन्। पदभार ग्रहण गरेकै दिन एक्समा 'हेलो' (Hello) लेखेर गरिएको पहिलो पोस्टले सार्वजनिक रूपमा ठुलो चर्चा कमाएको छ।
गत जुन महिनामै एप्पलको नयाँ सीईओ बन्ने पक्का भएपछि उनले एक्समा अकाउन्ट खोलेका थिए। सेप्टेम्बर १ मा पद सम्हालेपछि मात्र पहिलो पोस्ट गरेका उनको अकाउन्टमा छोटो समयमै फलोअर्सको सङ्ख्या झन्डै १० लाख पुगिसकेको छ। एक्सका मालिक एलन मस्कले समेत उनको पोस्टलाई कोट-रिपोस्ट गर्दै "एप्पलका नयाँ सीईओले एक्समा पोस्ट गर्न थाले" भन्दै स्वागत गरेका छन्। टर्नस लिङ्क्डइनमा जोडिए पनि त्यसमा भने अहिलेसम्म कुनै पोस्ट गरेका छैनन्।
टिम कुक र नेतृत्व परिवर्तन
सीईओ पदबाट हटेपछि टिम कुक एप्पलको सञ्चालक समितिमा ‘कार्यकारी अध्यक्ष’ को भूमिकामा रहनेछन्। सन् १९९८ मा एप्पल प्रवेश गरेका कुकले सन् २०११ मा स्टिभ जब्सको निधनपछि सीईओको जिम्मेवारी पाएका थिए। विगत एक वर्षदेखि नै कुकले आफ्नो कार्यभार घटाउने इच्छा व्यक्त गर्दै उत्तराधिकारीको योजना बनाइरहेका थिए, जसमा टर्नस पहिलो रोजाइमा परेका थिए। टर्नसले मुख्य नेतृत्व सम्हालेसँगै उनको साविकको पद अर्थात् हार्डवेयर इन्जिनियरिङ विभागको प्रमुखमा जोनी स्रोउजीलाई नियुक्त गरिएको छ।
इन्जिनियरिङ यात्रादेखि एप्पलको सफलतासम्म
क्यालिफोर्नियामा जन्मिएका टर्नसले युनिभर्षिटी अफ पेन्सिल्भेनियाबाट मेकानिकल इन्जिनियरिङमा स्नातक गरेका हुन्, जहाँ उनी पौडी टोलीका सदस्यसमेत थिए। सन् १९९७ मा स्नातक सकेपछि केही समय 'भर्चुअल रिसर्च सिस्टम्स' नामक भीआर स्टार्टअपमा काम गरेका टर्नस सन् २००१ मा एप्पल प्रवेश गरेका थिए। झन्डै २५ वर्ष एप्पलमा बिताएका उनी सन् २०१३ मा हार्डवेयर इन्जिनियरिङको उपाध्यक्ष र सन् २०२१ मा सोही विभागको प्रमुख बनेका थिए।
टर्नसको नेतृत्वमा एप्पलले थुप्रै महत्त्वपूर्ण हार्डवेयर प्रविधिमा सफलता हासिल गरेको छ। विशेष गरी सन् २०२० मा इन्टेलका चिप हटाएर कम्पनीको आफ्नै ‘एप्पल सिलिकन चिप’ प्रयोगमा ल्याएपछि म्याक कम्प्युटरको बिक्रीमा ठुलो उछाल आएको थियो। यसबाहेक एप्पल वाच, एयरपड्स र हालै सार्वजनिक भएको ‘भिजन प्रो’ हेडसेट ल्याउनमा पनि उनकै मुख्य योगदान छ। स्वभावका हिसाबले भद्र मानिने टर्नसको कार्यशैली स्टिभ जब्सभन्दा टिम कुकसँग बढी मिल्दोजुल्दो रहेको मानिन्छ।
पद हस्तान्तरणका क्रममा कुकले टर्नसको प्रशंसा गर्दै उनलाई "इन्जिनियरको दिमाग, आविष्कारकको आत्मा र निष्ठाका साथ नेतृत्व गर्ने हृदय भएको व्यक्ति" भनेका छन्। टर्नसले पनि दिग्गजहरूबाट सिक्ने अवसर पाएकोमा आभार व्यक्त गर्दै एप्पलको मिसनलाई अगाडि बढाउन आफू प्रतिबद्ध रहेको बताएका छन्।
एप्पलका अगाडिका चुनौती
टर्नसले यस्तो समयमा एप्पलको नेतृत्व सम्हालेका छन्, जब कम्पनीको बजार मूल्य करिब ४.७ ट्रिलियन डलर पुगेको छ र वार्षिक नाफा १०० अर्ब डलरभन्दा बढी छ। चीनमा आईफोनको माग बढेपछि कम्पनीले बिक्रीमा नयाँ कीर्तिमान बनाएको छ। यद्यपि, नयाँ सीईओका रूपमा टर्नसका अगाडि आर्टिफिसियल इन्टिलिजेन्स (एआई) को क्षेत्रमा गुगल र माइक्रोसफ्ट जस्ता प्रतिस्पर्धीसँग जुध्ने चुनौती छ। उनले एआई क्षेत्रमा पकड बलियो बनाउन गुगलको ‘जेमिनाई’ प्रविधिको सहयोगमा भर्चुअल असिस्टेन्ट ‘सिरी’ लाई परिमार्जन गर्ने योजनालाई अगाडि बढाउनुपर्नेछ।