काठमाडौं । स्मार्टफोन खरिद गर्दा स्टोरेजपछि हाम्रो सबैभन्दा ठुलो चासो ब्याट्री ब्याकअपमै हुन्छ । अहिले ब्याट्री लाइफको समस्यालाई सम्बोधन गर्न फास्ट चार्जिङ प्रविधि एउटा प्रमुख ट्रेन्ड बनिसकेको छ । यसलाई सामसङ, ह्वावे, गुगल, वनप्लस र एप्पल जस्ता ब्रान्डले आफ्ना हाई-इन्ड फोनमा अपनाइरहेका छन् ।
ब्याट्री एक दिन पनि टिक्न मुस्किल पर्ने अवस्थामा फास्ट चार्जिङ निकै उपयोगी साबित भएको भए पनि यसले धेरैको मनमा केही प्रश्न पनि जन्माएको छ । विशेष गरी उच्च क्षमताको चार्जरले फोनको ब्याट्रीलाई दीर्घकालीन रूपमा कस्तो असर पुर्याउँछ र यसले ब्याट्रीको शक्ति सञ्चित गर्ने क्षमतालाई कमजोर बनाउँछ कि बनाउँदैन भन्ने चासो देखिन्छ । यसै सन्दर्भमा प्रविधिसम्बन्धी वेबसाइट ‘सीनेट’ ले ब्याट्री अनुसन्धानकर्ता तथा इन्जिनियरसँग कुराकानी गरी ब्याट्री हेल्थ र फास्ट चार्जिङको प्रभावबारे केही तथ्य बाहिर ल्याएको छ ।
हामीले प्रयोग गर्ने मोबाइल फोन र विद्युतीय सवारीसाधनमा लिथियम आयन रिचार्ज गर्न मिल्ने ब्याट्री प्रयोग गरिन्छ, जसको प्रविधिमा विगत धेरै दशकदेखि कुनै ठुलो परिवर्तन आउन सकेको छैन । ब्याट्री प्रविधिमा हालसम्म भएका प्रगति मुख्य रूपमा सफ्टवेयर र चिपसेटमा गरिएको ‘पावर सेभिङ’ सम्बन्धी सुधारमा मात्र सीमित छन् ।
तर, मोबाइल फोनको ब्याट्रीको आयु विस्तार गर्ने विषयमा अपेक्षित अनुसन्धान हुन सकेको छैन । विद्युतीय कार, स्याटेलाइट र घरेलु पावर सिस्टममा ब्याट्रीको आयु बढाउन विभिन्न खोज भए पनि फोनको ब्याट्रीको आकार निकै सानो हुने भएकाले यसमा सीमा छन् । फोनको ब्याट्री मिलिएम्पियर आवर (mAh) मा नापिन्छ भने गाडीको वाट आवर (Wh) मा गणना गरिन्छ ।
ब्याट्रीको आकार जति ठुलो हुन्छ त्यसलाई जोगाउने उपाय पनि धेरै हुन्छन्; जस्तै ब्याट्री २० प्रतिशतभन्दा कम हुँदा दबाब बढ्ने भएकाले कार निर्माताले ब्याट्रीलाई ८० प्रतिशतसम्म मात्र चार्ज हुने गरी मिलाउँछन्, जसले गर्दा भोल्टेजको दबाब कम भई ब्याट्री लामो समयसम्म टिक्छ ।
सामान्यतया पुराना चार्जर ५ देखि १० वाट आउटपुट क्षमताका हुन्थे भने आधुनिक फास्ट चार्जरले त्योभन्दा आठ गुणासम्म बढी क्षमतामा काम गर्न सक्छन् ।
प्राविधिक रूपमा कुनै त्रुटि नभएको खण्डमा यस्ता फास्ट चार्जरले ब्याट्रीलाई कुनै दीर्घकालीन असर पुर्याउँदैनन् । किनभने फास्ट चार्जिङ प्रविधिले दुई चरणमा काम गर्छ । पहिलो चरणमा खाली ब्याट्रीमा तीव्र गतिमा उच्च भोल्टेज प्रवाह गरिन्छ जसले गर्दा पहिलो १० देखि ३० मिनेटमै ब्याट्री ५० देखि ७० प्रतिशतसम्म चार्ज हुन्छ र यस बेला ब्याट्रीले सजिलै ऊर्जा सोस्न सक्ने भएकाले कुनै नकारात्मक असर पर्दैन ।
तर दोस्रो चरणमा पुगेपछि चार्जिङको गति स्वचालित रूपमा निकै ढिलो हुन्छ जहाँ मोबाइल निर्माता कम्पनीले तापक्रम र भोल्टेजलाई व्यवस्थापन गर्नुपर्ने हुन्छ । त्यसो गर्न सकिएन भने ब्याट्री बिग्रिने जोखिम रहन्छ ।
ब्याट्रीलाई आवश्यकताभन्दा बढी समय चार्जमा राखिरहँदा अर्थात् ओभर चार्ज गर्दा यसको आन्तरिक तापक्रम बढ्न गई ब्याट्री अस्थिर हुन सक्छ र आयु घट्ने वा पड्किने खतरा रहन्छ । तर आधुनिक फोनमा ब्याट्री शत-प्रतिशत चार्ज भएपछि स्वतः चार्ज रोकिने ‘ब्याट्री म्यानेजमेन्ट सिस्टम’ जडान गरिएको हुन्छ । फोनको नयाँ नयाँ अपडेटले पनि यसलाई थप परिमार्जन गर्दै लगेको हुन्छ । अर्थात ब्याट्रीलाई दीर्घकालीन क्षतिबाट जोगाउने गरी यो सबै डिजाइन गरिएको छ ।
अर्कोतर्फ, फोनको ब्याट्री पूर्ण रूपमा रित्तिएर शून्य प्रतिशतमा पुग्दा हानिकारक रासायनिक प्रतिक्रिया हुने भएकाले ब्याट्रीको क्षमता ह्वात्तै घट्छ । यस्तो अवस्थाबाट जोगाउन फोनको आन्तरिक प्रणालीले ब्याट्री पूर्ण खाली हुनुअघि नै फोनलाई बन्द गराइदिने सुरक्षा फिचर राखेको हुन्छ । तर ब्याट्रीलाई स्वस्थ राख्नका लागि यसको चार्ज ३० प्रतिशतभन्दा तल झर्नु अघि नै चार्जमा जोड्नु उपयुक्त हुन्छ ।
ब्याट्रीको सबैभन्दा बढी हानी अत्यधिक तापक्रमले गर्छ । किनकि ८६ डिग्री फरेनहाइटभन्दा बढीको तापमानले यसको कार्यक्षमता र आयु दुवैलाई कमजोर बनाउँछ । त्यसैले फोनलाई सिधै घाम पर्ने झ्याल, तातो गाडीको ड्यासबोर्ड वा अत्यधिक गर्मी ठाउँमा राख्नु हुँदैन र यात्रा गर्दा यसलाई खल्ती वा झोलामा सुरक्षित राख्दै चिसो पानीको बोतलको नजिक राख्नु लाभदायक हुन सक्छ ।
यसका साथै, गुणस्तरहीन वा साइज नमिल्ने नक्कली चार्जर र केबलले ब्याट्रीमा क्षति पुर्याउन सक्ने भएकाले सधैं आधिकारिक र सुरक्षित चार्जर मात्र प्रयोग गर्नुपर्छ । यद्यपि एप्पल र सामसङ जस्ता कम्पनीले विश्वव्यापी मानक अपनाउने हुँदा बजारमा सहजै मिल्ने केबल पाइन्छन् भने ह्वावे र वनप्लसका लागि विशेष डिजाइनका केबल आवश्यक पर्छन् ।
ब्याट्रीको दैनिक खपत कम गर्नका लागि स्क्रिनको ब्राइटनेस घटाउने, वाइफाइ, ब्लुटुथ र जीपीएस जस्ता फिचर बन्द गर्ने तथा ब्याकग्राउण्ड डेटा प्रयोगलाई रोक्ने जस्ता व्यावहारिक उपाय अपनाउनु बुद्धिमानी हुन्छ ।