विश्वव्यापी स्मार्टफोन बजारको आम्दानी सन् २०२६ को दोस्रो त्रैमासमा ७ प्रतिशतले वृद्धि भई कीर्तिमानी १ खर्ब ९ अर्ब अमेरिकी डलर पुगेको छ। बजार अनुसन्धान संस्था काउन्टरपोइन्ट रिसर्चको नयाँ प्रतिवेदन अनुसार स्मार्टफोनको मूल्य वृद्धि र प्रिमियम स्मार्टफोनप्रतिको बढ्दो आकर्षणका कारण यो ऐतिहासिक आम्दानी हासिल भएको हो।
प्रतिवेदन अनुसार यस अवधिमा स्मार्टफोनको औसत बिक्री मूल्य (एएसपी) अघिल्लो वर्षको तुलनामा १७ प्रतिशतले बढेर कीर्तिमानी ४०० अमेरिकी डलर (करिब ६० हजार ८२९ नेपाली रुपैयाँ) पुगेको छ। विशेष गरी एन्ड्रोइड स्मार्टफोनमा प्रयोग हुने मेमोरी चिप लगायतका कम्पोनेन्टको मूल्य बढेकाले विभिन्न डिभाइसहरूको मूल्य वृद्धि भएको हो।
बिक्री सङ्ख्याभन्दा नाफामा ध्यान
स्मार्टफोन निर्माताहरूले अहिले डिभाइसको बिक्री सङ्ख्या (शिपमेन्ट) बढाउनुभन्दा प्रत्येक फोनबाट धेरै आम्दानी हासिल गर्ने रणनीति अँगालेका छन्। कम्पोनेन्टको लागत बढेपछि कम्पनीहरूको नाफा मार्जिनमा दबाब परेको र यसले गर्दा उनीहरू उच्च मूल्यका र बढी नाफा दिने स्मार्टफोनतर्फ बढी केन्द्रित भएका हुन्।
काउन्टरपोइन्ट रिसर्चकी वरिष्ठ विश्लेषक शिल्पी जैनका अनुसार कम्पनीहरूले कम्पोनेन्टको बढेको लागत उपभोक्तामाथि स्थानान्तरण गर्दै धेरै स्टोरेज भएका मोडेल र प्रिमियम स्मार्टफोनको दायरा विस्तार गरिरहेका छन्। साथै, किस्ताबन्दी (इन्स्टलमेन्ट) सुविधा, एक्सचेन्ज वा ट्रेड-इन कार्यक्रम तथा आकर्षक वित्तीय योजनाका कारण उदीयमान बजारहरूमा समेत महँगा फोन धेरै उपभोक्ताको पहुँचमा पुग्न मद्दत मिलेको छ।
एप्पल र सामसुङको वर्चस्व
प्रमुख ब्रान्डहरूमध्ये एप्पलको प्रदर्शन सबैभन्दा उत्कृष्ट रहेको छ। कम्पनीको स्मार्टफोन आम्दानी वार्षिक रूपमा २२ प्रतिशतले बढेको छ भने कुल विश्वव्यापी बजार आम्दानीमा एप्पलले कीर्तिमानी ४९ प्रतिशत हिस्सा ओगटेको छ। आइफोन १७ सिरिजको उच्च माग र स्मार्टफोन आपूर्ति (शिपमेन्ट) मा १३ प्रतिशतको वृद्धिका कारण एप्पलले यो सफलता हासिल गरेको हो।
त्यस्तै, १६ प्रतिशत आम्दानी हिस्सासहित सामसुङ दोस्रो स्थानमा छ। सामसुङको आम्दानी र शिपमेन्ट दुवै वार्षिक ९ प्रतिशतले बढेको प्रतिवेदनमा उल्लेख छ। कम्पनीको ग्यालेक्सी ए-सिरिज र फ्ल्यागशिप मोडलहरूको बलियो मागले यस वृद्धिमा सहयोग पुर्याएको हो।
अर्कोतर्फ, साओमीको आम्दानी वार्षिक रूपमा १७ प्रतिशतले घटेको छ भने ओप्पो र भिभोको आम्दानी क्रमशः १० प्रतिशत र ११ प्रतिशतले ओरालो लागेको छ। इन्ट्री-लेभल र मिड-रेन्ज फोनको शिपमेन्ट सुस्त हुनाले मूल्य बढाउँदा पनि यी ब्रान्डहरूको समग्र आम्दानीमा सकारात्मक प्रभाव पर्न सकेन।