गत आर्थिक वर्षमा नेपालमा स्मार्टफोनको व्यापारमा उल्लेख्य वृद्धि देखिएको छ। भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८२/८३ मा कूल ४८ अर्ब ६९ करोड ३४ लाख ७६ हजार रुपैयाँ बराबरको स्मार्टफोन मुलुकमा आयात भएको छ। सो अवधिमा कुल २२ लाख ६७ हजार ४१९ थान स्मार्टफोन भित्रिएका हुन्।
अघिल्लो आर्थिक वर्ष २०८१/८२ को तुलनामा फोनको सङ्ख्यामा सामान्य वृद्धि भए पनि कुल आयात रकममा भने ठूलो उछाल आएको छ। आव २०८१/८२ मा ३५ अर्ब ५४ करोड ७३ लाख ४२ हजार रुपैयाँ मूल्य बराबरका २१ लाख ८४ हजार ६९४ थान फोन नेपाल भित्रिएका थिए। स्मार्टफोनको आयात बढेसँगै राज्यको राजस्व सङ्कलनमा पनि उत्साहजनक वृद्धि भएको छ। गत आव २०८२/८३ मा स्मार्टफोन आयातबाट सरकारले ९ अर्ब ८ करोड २३ लाख ९७ हजार रुपैयाँ राजस्व संकलन गरेको छ, जुन अघिल्लो वर्ष ६ अर्ब ६२ करोड ७६ लाख ३७ हजार रुपैयाँ मात्र थियो।
चीन र भारतको वर्चस्व
नेपालमा भित्रिने स्मार्टफोनको मुख्य स्रोत चीन र भारत नै रहेका छन्। गत आर्थिक वर्षमा चीनबाट मात्रै ३६ अर्ब ७९ करोड २७ लाख ५८ हजार रुपैयाँ बराबरका १८ लाख ८९ हजार ६६४ थान स्मार्टफोन आयात भएको छ। यस्तै, दोस्रो स्थानमा रहेको भारतबाट १० अर्ब ९९ करोड रुपैयाँ बराबरका ३ लाख ६४ हजार ८४२ थान स्मार्टफोन भित्रिएका छन्। नेपाल भित्रिने स्मार्टफोन र त्यसबाट प्राप्त हुने राजस्वमा यी दुई छिमेकी मुलुकको हिस्सा सबैभन्दा बढी छ।
स्मार्टवाचको आयातमा गिरावट
स्मार्टफोनको आयात ओरालो नलागे पनि स्मार्टवाचको बजारमा भने सुस्तता आएको छ। भन्सार विभागका अनुसार गत आर्थिक वर्ष २०८२/८३ मा २३ करोड ७३ लाख ८१ हजार रुपैयाँ बराबरका ९८ हजार ७८३ थान स्मार्टवाच मात्र नेपाल भित्रिएका छन्। जबकि अघिल्लो आव २०८१/८२ मा २९ करोड ४५ लाख ६२ हजार रुपैयाँ बराबरका १ लाख ७३ हजार ६७८ थान स्मार्टवाच आयात भएका थिए।
स्मार्टवाचको आयात घटेसँगै यस क्षेत्रबाट प्राप्त हुने सरकारी राजस्वमा पनि कमी आएको छ। अघिल्लो वर्ष स्मार्टवाच आयातबाट ८ करोड ९० लाख रुपैयाँ राजस्व संकलन भएकोमा गत आर्थिक वर्षमा त्यो घटेर ७ करोड १३ लाख रुपैयाँमा सीमित भएको छ।