सामसङले युवा पुस्तालाई लक्षित गर्दै आफ्नो लोकप्रिय ए-सिरिज अन्तर्गतको नयाँ स्मार्टफोन 'ग्यालेक्सी ए२७ फाइभजी' नेपाली बजारमा आधिकारिक रूपमा सार्वजनिक गरेको छ। ६ वर्षसम्मको लामो सफ्टवेयर सपोर्ट र प्रिमियम एआई सुविधाहरूले सुसज्जित यस फोनमा प्रयोगकर्ताका लागि आधुनिक विशेषताहरू समावेश गरिएका छन्।
असम इन्टेलिजेन्स र उत्कृष्ट डिस्प्ले
यस स्मार्टफोनको मुख्य आकर्षणको रूपमा 'असम इन्टेलिजेन्स' (Awesome Intelligence) रहेको छ। गुगल जेमिनाई र पर्प्लेक्सिटी जस्ता एआई असिस्टेन्टहरू सपोर्ट गर्ने यस फोनमा विद्यार्थी तथा व्यावसायिक प्रयोगकर्ताका लागि निकै उपयोगी भ्वाइस ट्रान्सक्रिप्सन सुविधा उपलब्ध गराइएको छ।
दृश्य अनुभवका लागि फोनमा ६.७ इन्चको फुल एचडी प्लस एमोलेड डिस्प्ले दिइएको छ, जसले १२० हर्ज रिफ्रेस रेट र अपग्रेड गरिएको इन्फिनिटी-ओ डिजाइनलाई समर्थन गर्छ। ७.८ एमएमको स्लिम प्रोफाइलमा उपलब्ध यो फोन लाइट ग्रीन, लाइट पिंक र ब्ल्याक गरी तीन आकर्षक रङहरूमा बजारमा आएको छ।
पर्फमेन्स, क्यामेरा र सुरक्षा
उत्कृष्ट पर्फमेन्सका लागि ग्यालेक्सी ए२७ फाइभजीमा ४ एनएम प्रविधिमा आधारित स्न्यापड्रागन ६ जेन ३ प्रोसेसर प्रयोग गरिएको छ। फोटोग्राफीका लागि पछाडिपट्टि ओआईएस (OIS) प्रविधिसहितको ५० मेगापिक्सेलको मुख्य क्यामेरा, ५ मेगापिक्सेलको अल्ट्रा-वाइड र २ मेगापिक्सेलको म्याक्रो लेन्स दिइएको छ भने सेल्फीका लागि १२ मेगापिक्सेलको फ्रन्ट क्यामेरा छ।
यसमा २५ वाटको फास्ट चार्जिङ सुविधासहितको ५००० एमएएच ब्याट्री र डाटा सुरक्षाका लागि सामसङ नक्स भोल्ट प्रविधि उपलब्ध छ।
मूल्य, ईएमआई र अफरहरू
नेपाली बजारमा ग्यालेक्सी ए२७ फाइभजीको ६/१२८ जीबी भेरियन्टको मूल्य ५५,९९९ रुपैयाँ र ८/५१२ जीबी भेरियन्टको मूल्य ६९,९९९ रुपैयाँ कायम गरिएको छ।
खरिदकर्ताको सहजताका लागि सामसङले २४ महिनाको ईएमआई सुविधा ल्याएको छ, जसअन्तर्गत ग्राहकले मासिक १,५१९ रुपैयाँ किस्तामा फोन खरिद गर्न सक्नेछन्। साथै, पुराना फोन साट्न चाहनेका लागि ८,००० रुपैयाँसम्मको एक्सचेन्ज बोनस र एनसेलको १िको १२० जीबी डेटा उपहार स्वरूप प्रदान गरिनेछ।