काठामडौं । विन्डोज अपरेटिङ सिस्टममा एउटा यस्तो तथ्य लुकेको छ, जसका बारेमा धेरै प्रयोगकर्ताहरू अनभिज्ञ छन् । यदि तपाईंले आफ्नो कम्प्युटरमा विन्डोज ८ देखि ११ सम्मको कुनै पनि भर्सन प्रयोग गरिरहनुभएको छ भने, सम्भवतः तपाईंको पीसी सन् २०१२ देखि अहिलेसम्म पूर्ण रूपमा बन्द (Shut Down) भएको छैन ।
धेरै प्रयोगकर्ताहरूले आफ्नो NVMe SSD सफा गर्ने क्रममा WizTree जस्ता सफ्टवेयर प्रयोग गर्दा C: ड्राइभमा १२.५ जीबीसम्मका hiberfil.sys नामक ठुलो फाइल फेला पार्ने गरेका छन् । यो फाइल सिस्टममा हाइबरनेसन (Hibernation) विकल्प सुरु हुँदा मात्र देखिन्छ । विन्डोजमा सन् २०१२ देखि समावेश गरिएको फास्ट स्टार्टअप नामक फिचरले प्रत्येक पटक कम्प्युटर बन्द गर्दा यही फाइलको प्रयोग गर्छ । सामान्य बुट प्रक्रियाको तुलनामा यसले कम्प्युटर चाँडो खुलाउन मद्दत गरे पनि, यसका केही गम्भीर प्राविधिक पक्षहरू छन्, जुन प्रयोगकर्ताले बुझ्न जरुरी छ ।
तथ्य के हो भने, विन्डोजले तपाईंको पीसीलाई त्यसरी बन्द गरिरहेको हुँदैन, जस्तो तपाईँले सोच्नुहुन्छ । यदि तपाईँसँग विन्डोज ८ बाट अपग्रेड हुँदै आएको पुरानो पीसी छ भने, टास्कबारमा रहेको Shut Down बटन थिचेर कम्प्युटर बन्द गर्नु हुन्छ होला । तर यसो गर्दैमा तपाईंको कम्प्युटर कहिल्यै पनि पूर्ण रूपमा बन्द हुँदैन । जब यो फिचर सक्रिय भएपछि विन्डोजले तपाईंका एपहरू बन्द गर्छ र प्रयोगकर्ताको सेसन लगआउट गरिदिन्छ । तर सिस्टमको मुख्य भागलाई भने पूर्ण रूपमा बन्द गर्दैन ।
यस प्रक्रियामा विन्डोजको मुख्य कर्नेल (Kernel), लोड भएका डिभाइस ड्राइभरहरू र हार्डवेयर व्यवस्थापन गर्ने अपरेटिङ सिस्टमको लेयर सबै लोड भएकै अवस्थामा रहन्छन् । सबै कुरा सफा गरेर बन्द गर्नुको सट्टा, विन्डोजले उक्त अवस्थाको एउटा स्न्यापशट लिएर बुट ड्राइभको hiberfil.sys फाइलमा सुरक्षित (Hibernate) गरिदिन्छ ।
यसको मुख्य उद्देश्य बुट समयलाई केही सेकेन्ड भए पनि कम गर्नु हो । जब तपाईंले पुनः कम्प्युटर अन गर्नुहुन्छ, विन्डोजले शून्यबाट सबै ड्राइभर र सब-सिस्टम सुरु गर्नुको साटो सिधै सिस्टम मेमोरीमा उक्त सुरक्षित स्न्यापशट लोड गर्छ । यसलाई पूर्ण शट डाउन र हाइबरनेसन बीचको प्रक्रिया मान्न सकिन्छ । जसलाई माइक्रोसफ्टले सुरुमा हाइब्रिड शटडाउन (Hybrid Shutdown) नाम दिएको थियो ।
माइक्रोसफ्टले डिफल्ट रूपमा दिने यो सुविधा सुन्दा फाइदाजनक लागे पनि यसले डेस्कटपमा धेरै अनपेक्षित समस्याहरू निम्त्याउन सक्छ । विन्डोज ८ पछि देखिएका धेरैजसो प्राविधिक त्रुटिहरूको जड यही फिचरमा गएर ठोकिन्छ । पीसी कहिल्यै पूर्ण रूपमा बन्द नहुने र कर्नेल स्टेट (Kernel State) रिसेट नहुने भएकाले यसले समयसमयमा जटिल समस्याहरू ल्याउने गरेको छ ।
प्रयोगकर्ता र प्रविधि विश्लेषकहरूले रिपोर्ट गरेका समस्याहरूमध्ये विन्डोज अपडेटसँगको द्वन्द्व सबैभन्दा प्रमुख छ । सन् २०१७ मा माइक्रोसफ्टले प्रकाशित गरेको एक प्रतिवेदन अनुसार केही अपडेटहरू पूर्ण रूपमा इन्स्टल हुनका लागि सिस्टम फुल शट डाउन हुनु अनिवार्य हुन्छ । फास्ट स्टार्टअपले कर्नेललाई बन्द गर्नुको सट्टा हाइबरनेट मात्र गर्ने भएकाले ती अपडेटहरू तबसम्म पूर्ण रूपमा लागु हुँदैनन्, जबसम्म तपाईंले रिस्टार्ट (Restart) विकल्प रोज्नुहुन्न । यसै कारण माइक्रोसफ्टले विन्डोज १० प्रयोगकर्ताहरूलाई अपडेट सम्पन्न गर्न शट डाउनको साटो रिस्टार्ट छान्न आग्रह गरेको थियो ।
यो समस्या विन्डोज १० मा मात्र सीमित थिएन । अक्टोबर २०२५ मा KB5067036 प्याच नआउन्जेलसम्म यसको एउटा पाटो समाधान भएको थिएन । विन्डोज फोरमका अनुसार Update and Shut Down विकल्प छान्दा कम्प्युटर बन्द हुनुको सट्टा प्रयोगकर्तालाई पुनः लक स्क्रिनमा फर्काउने समस्या थियो । जसमा फास्ट स्टार्टअपलाई मुख्य प्राविधिक कारण मानिएको थियो ।
विगत एक दशकमा यो फिचरका कारण ड्राइभर र फर्मवेयर अपडेटहरू लागु नहुने, किबोर्ड र माउस जस्ता पेरिफेरल डिभाइसहरू चल्न असफल हुने र अपडेटहरू सही तरिकाले नमिल्दा सानातिना प्राविधिक त्रुटिहरू देखिने गरेका छन् । रिस्टार्ट गर्दा कम्प्युटर सधैँ कोल्ड बुट (Cold Boot) हुन्छ, जसले सिस्टमलाई पूर्ण रूपमा रिसेट गर्छ । त्यसैले विन्डोज ११ र १० मा देखिने धेरै समस्याहरू केवल रिस्टार्ट गर्दा समाधान हुने गरेका छन् ।
अहिलेको समयमा धेरै प्रविधि विश्लेषकहरू फास्ट स्टार्टअपको आवश्यकता नरहेको बताउँछन् । आधुनिक एसएसडीहरू आफैंमा निकै तीव्र हुने भएकाले यो फिचरले प्रयोगकर्ताको अनुभवमा खासै ठुलो फरक पार्दैन । यो फिचर बन्द गर्न केही सामान्य सेटिङ मात्र परिवर्तन गरे पुग्छ ।
यद्यपि, यसले बुट समयमा केही सेकेन्ड भए पनि बचत गर्ने कुरा भने सत्य हो । एउटा मात्र अपरेटिङ सिस्टम भएको डेस्कटप पीसीमा यसले ठुलो हानी गर्दैन । तर ल्यापटप प्रयोगकर्ताहरूका लागि भने यो फिचर निकै उपयोगी हुन सक्छ । ल्यापटप पटक-पटक खोल्ने र बन्द गर्ने गरिने हुँदा केही सेकेन्डको बचत पनि महसुस हुन्छ । धेरै ल्यापटप प्रयोगकर्ताहरू ब्याट्री खर्च हुने डरले स्लिप मोड प्रयोग गर्न हिचकिचाउँछन्, उनीहरूका लागि फास्ट स्टार्टअप एउटा राम्रो विकल्प बन्न पुग्छ ।
यस फिचरका कारण विभिन्न प्रयोगकर्ताहरूले अनौठा समस्याहरू भोगेका छन् । रिक-एच नामक एक प्रयोगकर्ताका अनुसार, उनको ल्यापटप आफैं बुट भएर एडमिन एकाउन्टमा लग-इन हुने र स्क्रिन पनि लक नहुने समस्या देखिएको थियो । फास्ट स्टार्टअप बन्द गरेपछि मात्र उनको सिस्टम स्थिर भएको थियो ।
त्यस्तै, रेनोस नामका अर्का प्रयोगकर्ताले कम्प्युटर शट डाउन गरेर एक्स्टर्नल डिस्क निकालेका थिए । अर्को पीसीमा फाइलहरू राखेर पुनः आफ्नो कम्प्युटरमा जोड्दा विन्डोजले ती नयाँ फाइलहरू नै देखाएन । ती फाइलहरूले स्टोरेज त ओगटेका थिए, तर कतै देखिँदैनथे । यो फिचर बन्द गरेपछि मात्र उनको समस्या समाधान भयो ।
जीपीयू माइनिङ गर्नेहरूका लागि पनि यो फिचर टाउको दुखाइको विषय बनेको थियो । किनकि यसले पुरानो जीपीयू फर्मवेयर नै सेभ गरेर राख्थ्यो र नयाँ फर्मवेयर अपडेट गर्दा पनि पुरानै काम गरिरहेको हुन्थ्यो ।
फास्ट स्टार्टअप सुस्त गतिको स्टोरेज (एचडीडी) भएको समयका लागि उपयुक्त फिचर थियो । आधुनिक प्रविधिको विकाससँगै यसले निम्त्याउने अपडेटका समस्या र स्टोरेजको खपतलाई हेर्दा यो सुविधा कत्तिको आवश्यक छ भन्ने कुरा प्रयोगकर्ताको आवश्यकतामा भर पर्छ । पुराना पीसी वा पुराना ड्राइभ प्रयोग गर्नेहरूका लागि यो अझै पनि सहयोगी हुन सक्छ । तर सिस्टमको स्थिरता चाहनेहरूका लागि यसलाई बन्द गर्नु नै उत्तम विकल्प हुने देखिन्छ ।