काठमाडौँ । शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसईई) पूरा भएको पनि एक हप्ता बितिसकेको छ । पहिले एसईई दिएको करिब तीन महिनामा नतिजा प्रकाशित हुन्थ्यो । तर, चुनावका कारण करिब दुई साता ढिलो सुरु भएको एसईईको नतिजा यस पटक भने एक महिनाभित्रै सार्वजनिक गर्ने गरी तयारी भइरहेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
त्यसैले यस पटक एसईई दिएर बसेका विद्यार्थीहरूसँग नतिजा आउन एक महिनाभन्दा पनि कम समय बाँकी छ । लामो समय अध्ययनमा बिताएका विद्यार्थीहरूले पछिल्लो एक हप्ता रमाइलो गरेर बिताउनुभयो होला । अब बाँकी समय चाहिँ केही न केही गरेर सदुपयोग गर्न खोज्दै हुनुहुन्छ भने यो लेख तपाईँका लागि उपयोगी हुन सक्छ ।
हामीले समयको सदुपयोगका लागि दिएका यी टिप्सले तपाईँलाई भविष्यमा रोजगारीका लागि समेत अनुभव हुन सक्छ । कन्टेन्ट क्रिएसनदेखि एउटा समाजको सचेत नागरिक बनाउन पनि मद्दत पुर्याउन सक्छ ।
क्यानभा सिक्नुहोस्
ल्यापटप मात्र नभएर मोबाइलबाट समेत चलाउन सकिने ग्राफिक्स डिजाइनसँग सम्बन्धित टुल हो, क्यानभा । विन्डोज, म्याक, एन्ड्रोइड र आईओएसमा उपलब्ध यो एपले निःशुल्क रूपमा लाखौँ फिचरहरू उपलब्ध गराउँछ । सजिलो तरिकाले घरमा बसेर सिक्न सकिने भएकाले एसईई दिएर बसेको समयमा क्यानभा सिक्न उपयुक्त हुन सक्छ ।
क्यानभा एपभित्रै र युट्युब च्यानलमा यसको प्रयोग कसरी गर्ने भन्ने बारेमा ट्युटोरियल भिडिओ राखिएका छन् । यस्तै ‘How to use Canva’ भनेर युट्युबमा सर्च गर्ने हो भने विभिन्न कन्टेन्ट क्रिएटरहरूले तयार पारेका कयौँ भिडिओ हेर्दै सहजै सिक्न सकिन्छ ।
क्यानभामा लाखौँ टेम्प्लेटहरू निःशुल्क उपलब्ध हुने भएकाले ग्राफिक्स डिजाइनिङका बारेमा कयौँ नयाँ क्रिएटिभ आइडिया तयार पार्न सकिन्छ । यसमा ब्लर, पेन्ट इफेक्ट, पिक्सेलेट, ब्राइटनेस, कन्ट्रास्ट, स्याचुरेसन एड्जस्टमेन्ट लगायतका कयौँ इफेक्ट तथा फिल्टरहरू उपलब्ध छन् । अन्य एप वा सफ्टवेयरभन्दा युजर फ्रेन्डली इन्टरफेस रहेको यो एपबाट भिडिओ एडिट पनि सहजै गर्न सकिन्छ ।
फ्याक्ट चेक गर्न सिक्नुहोस्
हामी अहिलेको समयमा डिजिटल रूपमा बढी सक्रिय भइरहेका हुन्छौँ । फेसबुक, एक्स, टिकटक, इन्स्टाग्राम, युट्युब लगायतका कयौँ प्लेटफर्ममा हजारौँ सूचना आइरहेका हुन्छन् । ती सामग्रीहरू सबै सही नहुन सक्छन् । त्यसैले हामीले सचेत भएर सूचना सही हो वा होइन बुझेमा भ्रामक र मिथ्या सूचनाबाट बच्न सकिन्छ । यस्तै कतिपय गैरसरकारी संस्था तथा सञ्चार माध्यमहरूले यस्तै मिथ्या सूचनाहरूको वास्तविकता पत्ता लगाउन ‘फ्याक्ट चेक’ समेत गर्दै आएका छन् ।
तपाईँले पनि आफैँ सचेत हुन वा भविष्यमा फ्याक्ट चेकर बन्नका लागि तालिम लिन सक्नुहुन्छ । यसको लागि सहजै उपलब्ध कोर्समध्येको एक हो, एएफपी डिजिटल कोर्स ।
यो फ्याक्ट चेकिङ सम्बन्धी कोर्सबाट डिजिटल अनुसन्धान कसरी गर्ने, सामाजिक सञ्जालमा तथ्यको कसरी खोजी गर्ने, आर्काइभिङ, रिभर्स इमेज सर्च, जिओलोकेसन पत्ता लगाउने, एआई निर्मित सामग्री भए/नभएको कसरी पत्ता लगाउने लगायतका विषयहरूमा जानकारी लिन सक्नुहुन्छ । डिजिटल रूपमा निःशुल्क रूपमा उपलब्ध भएको यो कोर्स पूरा गरेपछि प्रमाणपत्र समेत प्राप्त गर्न सकिन्छ ।
एआई टुलहरू एक्स्प्लोर गर्नुहोस्
अध्ययन, अनुसन्धान, प्रिजेन्टेसन बनाउनदेखि सामान्य दैनिक क्रियाकलापमा हामी एआईको प्रयोग गरिरहेका हुन्छौँ । कतिपय एआई टुल निःशुल्क उपलब्ध छन्, जुन प्रयोग गरेर हामीले स्मार्ट तरिकाले काम गर्नका साथै ज्ञानको दायरा पनि बढाउन सक्छौँ ।
प्रम्प्ट दिएको भरमा फोटो बनाइदिने अर्थात् फोटो एडिट गर्ने लेक्सिका डट आर्ट, एडोबी फायरफ्लाई, प्लेग्राउन्ड डट कम, लियोनार्दो एआई जस्ता टुलहरू निःशुल्क उपलब्ध छन् । वेबपेज बनाउनका लागि गुगलको एआई स्टुडियो जस्ता उपयोगी प्लेटफर्म छन् ।
अनुसन्धान र मार्केटिङका क्षेत्रका लागि ‘नोटबुक एलएम’ नामको एआई उपलब्ध छ । यसले लामो र जटिल डकुमेन्टलाई एक्सप्लेनर भिडिओ वा पोडकास्टमा रूपान्तरण गरिदिन्छ। निःशुल्क प्रयोग गर्न सकिने यो प्लेटफर्ममा रिपोर्ट तयार पार्ने, स्लाइड तयार पार्ने, इन्फोग्राफिक्स, फ्लासकार्ड, डेटा टेबल, माइन्ड म्यापिङ लगायतका फिचर उपलब्ध छन् ।
प्रिजेन्टेसन बनाउनका लागि ‘जेमिनाई क्यानभास’ नामको टुल छ । यसले कुनै पनि साधारण टेक्स्ट फाइल वा रिपोर्टलाई विश्लेषण गरेर आकर्षक स्लाइड र ग्राफिक्ससहितको प्रिजेन्टेसनमा बदल्न सक्छ । च्याटजीपीटी, जेमिनाई, डिपसिक, ग्रोक लगायतका टुलहरूबाट पनि फरक-फरक सामग्री बनाउने बारेमा सिक्न सकिन्छ ।
डिजिटल मार्केटिङ कोर्स लिनुहोस्
पछिल्लो समय डिजिटल मार्केटिङ निकै रुचाउन थालिएको कोर्समध्ये एक हो । वेबसाइट अप्टिमाइजेसन, सर्च इन्जिन अप्टिमाइजेसन (एसईओ), सोसल मिडिया मार्केटिङ, इमेल मार्केटिङ, वेब एनालिटिक्स लगायतका कुराहरू यो कोर्स अन्तर्गत सिक्न सकिन्छ ।
डिजिटल मार्केटिङका कोर्स अनलाइन र भौतिक रूपमा उपस्थित भएर समेत लिन सकिन्छ । तालिम केन्द्रअनुसार १५ दिनदेखि ४५ दिनसम्मको हुन सक्ने यो कोर्सको मूल्य पनि केन्द्रअनुसार फरक-फरक हुन सक्छन् । आफूलाई मन लागेको समय र रकमका बारेमा अनलाइनबाट बुझेर यो कोर्स लिन सकिन्छ ।
यसबाहेक सर्च इन्जिन अप्टिमाइजेसन (एसईओ) मात्रैको पनि छुट्टै कोर्स लिन सकिन्छ । एसईओ कोर्सको अवधि र मूल्य चाहिँ डिजिटल मार्केटिङ कोर्सको भन्दा कम हुन्छ ।