एसईईपछि फुर्सदमा हुनुहुन्छ ? नतिजा आउनुअघि सिक्नुहोस् यी उपयोगी सीप, भविष्यमा काम लाग्न सक्छ - Kinbech Shop
Technology News

एसईईपछि फुर्सदमा हुनुहुन्छ ? नतिजा आउनुअघि सिक्नुहोस् यी उपयोगी सीप, भविष्यमा काम लाग्न सक्छ

Apr 21, 2026 153 views
एसईईपछि फुर्सदमा हुनुहुन्छ ? नतिजा आउनुअघि सिक्नुहोस् यी उपयोगी सीप, भविष्यमा काम लाग्न सक्छ

काठमाडौँ । शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसईई) पूरा भएको पनि एक हप्ता बितिसकेको छ । पहिले एसईई दिएको करिब तीन महिनामा नतिजा प्रकाशित हुन्थ्यो । तर, चुनावका कारण करिब दुई साता ढिलो सुरु भएको एसईईको नतिजा यस पटक भने एक महिनाभित्रै सार्वजनिक गर्ने गरी तयारी भइरहेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

त्यसैले यस पटक एसईई दिएर बसेका विद्यार्थीहरूसँग नतिजा आउन एक महिनाभन्दा पनि कम समय बाँकी छ । लामो समय अध्ययनमा बिताएका विद्यार्थीहरूले पछिल्लो एक हप्ता रमाइलो गरेर बिताउनुभयो होला । अब बाँकी समय चाहिँ केही न केही गरेर सदुपयोग गर्न खोज्दै हुनुहुन्छ भने यो लेख तपाईँका लागि उपयोगी हुन सक्छ ।

हामीले समयको सदुपयोगका लागि दिएका यी टिप्सले तपाईँलाई भविष्यमा रोजगारीका लागि समेत अनुभव हुन सक्छ । कन्टेन्ट क्रिएसनदेखि एउटा समाजको सचेत नागरिक बनाउन पनि मद्दत पुर्‍याउन सक्छ ।

क्यानभा सिक्नुहोस् 

ल्यापटप मात्र नभएर मोबाइलबाट समेत चलाउन सकिने ग्राफिक्स डिजाइनसँग सम्बन्धित टुल हो, क्यानभा । विन्डोज, म्याक, एन्ड्रोइड र आईओएसमा उपलब्ध यो एपले निःशुल्क रूपमा लाखौँ फिचरहरू उपलब्ध गराउँछ । सजिलो तरिकाले घरमा बसेर सिक्न सकिने भएकाले एसईई दिएर बसेको समयमा क्यानभा सिक्न उपयुक्त हुन सक्छ ।

क्यानभा एपभित्रै र युट्युब च्यानलमा यसको प्रयोग कसरी गर्ने भन्ने बारेमा ट्युटोरियल भिडिओ राखिएका छन् । यस्तै ‘How to use Canva’ भनेर युट्युबमा सर्च गर्ने हो भने विभिन्न कन्टेन्ट क्रिएटरहरूले तयार पारेका कयौँ भिडिओ हेर्दै सहजै सिक्न सकिन्छ ।

क्यानभामा लाखौँ टेम्प्लेटहरू निःशुल्क उपलब्ध हुने भएकाले ग्राफिक्स डिजाइनिङका बारेमा कयौँ नयाँ क्रिएटिभ आइडिया तयार पार्न सकिन्छ । यसमा ब्लर, पेन्ट इफेक्ट, पिक्सेलेट, ब्राइटनेस, कन्ट्रास्ट, स्याचुरेसन एड्जस्टमेन्ट लगायतका कयौँ इफेक्ट तथा फिल्टरहरू उपलब्ध छन् । अन्य एप वा सफ्टवेयरभन्दा युजर फ्रेन्डली इन्टरफेस रहेको यो एपबाट भिडिओ एडिट पनि सहजै गर्न सकिन्छ ।

फ्याक्ट चेक गर्न सिक्नुहोस्

हामी अहिलेको समयमा डिजिटल रूपमा बढी सक्रिय भइरहेका हुन्छौँ । फेसबुक, एक्स, टिकटक, इन्स्टाग्राम, युट्युब लगायतका कयौँ प्लेटफर्ममा हजारौँ सूचना आइरहेका हुन्छन् । ती सामग्रीहरू सबै सही नहुन सक्छन् । त्यसैले हामीले सचेत भएर सूचना सही हो वा होइन बुझेमा भ्रामक र मिथ्या सूचनाबाट बच्न सकिन्छ । यस्तै कतिपय गैरसरकारी संस्था तथा सञ्चार माध्यमहरूले यस्तै मिथ्या सूचनाहरूको वास्तविकता पत्ता लगाउन ‘फ्याक्ट चेक’ समेत गर्दै आएका छन् ।

तपाईँले पनि आफैँ सचेत हुन वा भविष्यमा फ्याक्ट चेकर बन्नका लागि तालिम लिन सक्नुहुन्छ । यसको लागि सहजै उपलब्ध कोर्समध्येको एक हो, एएफपी डिजिटल कोर्स ।

यो फ्याक्ट चेकिङ सम्बन्धी कोर्सबाट डिजिटल अनुसन्धान कसरी गर्ने, सामाजिक सञ्जालमा तथ्यको कसरी खोजी गर्ने, आर्काइभिङ, रिभर्स इमेज सर्च, जिओलोकेसन पत्ता लगाउने, एआई निर्मित सामग्री भए/नभएको कसरी पत्ता लगाउने लगायतका विषयहरूमा जानकारी लिन सक्नुहुन्छ । डिजिटल रूपमा निःशुल्क रूपमा उपलब्ध भएको यो कोर्स पूरा गरेपछि प्रमाणपत्र समेत प्राप्त गर्न सकिन्छ ।

एआई टुलहरू एक्स्प्लोर गर्नुहोस् 

अध्ययन, अनुसन्धान, प्रिजेन्टेसन बनाउनदेखि सामान्य दैनिक क्रियाकलापमा हामी एआईको प्रयोग गरिरहेका हुन्छौँ । कतिपय एआई टुल निःशुल्क उपलब्ध छन्, जुन प्रयोग गरेर हामीले स्मार्ट तरिकाले काम गर्नका साथै ज्ञानको दायरा पनि बढाउन सक्छौँ ।

प्रम्प्ट दिएको भरमा फोटो बनाइदिने अर्थात् फोटो एडिट गर्ने लेक्सिका डट आर्ट, एडोबी फायरफ्लाई, प्लेग्राउन्ड डट कम, लियोनार्दो एआई जस्ता टुलहरू निःशुल्क उपलब्ध छन् । वेबपेज बनाउनका लागि गुगलको एआई स्टुडियो जस्ता उपयोगी प्लेटफर्म छन् ।

अनुसन्धान र मार्केटिङका क्षेत्रका लागि ‘नोटबुक एलएम’ नामको एआई उपलब्ध छ । यसले लामो र जटिल डकुमेन्टलाई एक्सप्लेनर भिडिओ वा पोडकास्टमा रूपान्तरण गरिदिन्छ। निःशुल्क प्रयोग गर्न सकिने यो प्लेटफर्ममा रिपोर्ट तयार पार्ने, स्लाइड तयार पार्ने, इन्फोग्राफिक्स, फ्लासकार्ड, डेटा टेबल, माइन्ड म्यापिङ लगायतका फिचर उपलब्ध छन् ।

प्रिजेन्टेसन बनाउनका लागि ‘जेमिनाई क्यानभास’ नामको टुल छ । यसले कुनै पनि साधारण टेक्स्ट फाइल वा रिपोर्टलाई विश्लेषण गरेर आकर्षक स्लाइड र ग्राफिक्ससहितको प्रिजेन्टेसनमा बदल्न सक्छ । च्याटजीपीटी, जेमिनाई, डिपसिक, ग्रोक लगायतका टुलहरूबाट पनि फरक-फरक सामग्री बनाउने बारेमा सिक्न सकिन्छ ।

डिजिटल मार्केटिङ कोर्स लिनुहोस्

पछिल्लो समय डिजिटल मार्केटिङ निकै रुचाउन थालिएको कोर्समध्ये एक हो । वेबसाइट अप्टिमाइजेसन, सर्च इन्जिन अप्टिमाइजेसन (एसईओ), सोसल मिडिया मार्केटिङ, इमेल मार्केटिङ, वेब एनालिटिक्स लगायतका कुराहरू यो कोर्स अन्तर्गत सिक्न सकिन्छ ।

डिजिटल मार्केटिङका कोर्स अनलाइन र भौतिक रूपमा उपस्थित भएर समेत लिन सकिन्छ । तालिम केन्द्रअनुसार १५ दिनदेखि ४५ दिनसम्मको हुन सक्ने यो कोर्सको मूल्य पनि केन्द्रअनुसार फरक-फरक हुन सक्छन् । आफूलाई मन लागेको समय र रकमका बारेमा अनलाइनबाट बुझेर यो कोर्स लिन सकिन्छ ।

यसबाहेक सर्च इन्जिन अप्टिमाइजेसन (एसईओ) मात्रैको पनि छुट्टै कोर्स लिन सकिन्छ । एसईओ कोर्सको अवधि र मूल्य चाहिँ डिजिटल मार्केटिङ कोर्सको भन्दा कम हुन्छ ।

Related Articles

KinbechShop
Login / Register Marketplace New Post Free Ad Sell with AI Chat New Post Requirement Jobs B2B Wholesale Local Shops Digital Products Game Topup Services Tech News Mobile Tools Free Nepali Typing Free Business Directory Robotics & Electric Components Kabaadi Rate Board Game Tournament Buyer Requirements More Tools Date Converter Land Converter EMI Calculator Tax Calculator
म के सहयोग गर्न सक्छु?
👋 नमस्ते! के खोज्दै हुनुहुन्छ?Hi! How can I help you today?
KinbechShop सहायकAssistant · सधैं अनलाइन