काठमाडौं । चीनले सरकारी निकायमा प्रयोग हुँदै आएको माइक्रोसफ्टको विन्डोज १०को विशेष संस्करण हटाउने प्रक्रिया निर्धारित समयभन्दा अगाडि नै अघि बढाएको छ । विदेशी प्रविधिमाथिको निर्भरता घटाउने र संवेदनशील सरकारी डेटा सुरक्षालाई प्राथमिकता दिने चीनको नीतिअनुसार यस्तो कदम चालिएको हो ।
ब्लुमबर्गको रिपोर्ट अनुसार, चीनको राज्य सुरक्षा मन्त्रालयले केही सरकारी तथा सरकारसँग सम्बन्धित संस्थालाई माइक्रोसफ्टको उक्त सफ्टवेयर आफ्ना कम्प्युटरबाट हटाउन निर्देशन दिएको छ । यो संस्करण विशेष रूपमा चिनियाँ सरकारी निकायका सुरक्षा आवश्यकता अनुसार तयार गरिएको थियो ।
यसअघि उक्त सफ्टवेयरलाई फेब्रुअरी २०२७ सम्ममा हटाउने योजना थियो । तर नयाँ निर्देशनसँगै त्यसको समयसीमा केही महिनाअघि सारिएको छ । सरकारी कर्मचारी तथा सम्बन्धित संस्थाका केही अधिकारीका लागि यो निर्देशन अपेक्षाभन्दा छिटो आएको बताइएको छ ।
चीनले विन्डोज हटाउन दिएको पछिल्लो निर्देशनको मुख्य कारण डेटा सुरक्षासम्बन्धी चिन्ता रहेको बताइएको छ । यद्यपि, चिनियाँ अधिकारीले विन्डोजमा कुन प्रकारको सुरक्षा कमजोरी देखिएको हो वा कुनै विशेष सुरक्षा घटना भएको हो भन्नेबारे विस्तृत जानकारी दिएका छैनन् ।
माइक्रोसफ्टले भने आफ्नो उक्त उत्पादनसँग सम्बन्धित कुनै सुरक्षा घटना आफूलाई जानकारीमा नरहेको बताएको छ । कम्पनीका अनुसार सफ्टवेयरमा नियमित रूपमा सुरक्षा अपडेट उपलब्ध गराइँदै आएको छ ।
चीनले पछिल्ला वर्षहरूमा सरकारी, सैन्य तथा संवेदनशील डेटा व्यवस्थापन गर्ने संस्थामा स्वदेशी प्रविधिको प्रयोग बढाउँदै आएको छ । विदेशी हार्डवेयर तथा सफ्टवेयरमाथिको निर्भरता घटाउने यो अभियानअन्तर्गत चिनियाँ कम्पनीहरूले विन्डोजको विकल्पका रूपमा आफ्नै अपरेटिङ सिस्टम विकास गरिरहेका छन् ।
काइलिन सफ्टवेयर र टोङसिन सफ्टवेयर टेक्नोलोजी लगायतका चिनियाँ कम्पनीले विन्डोजको विकल्पका रूपमा आफ्ना अपरेटिङ सिस्टम अघि सारेका छन् । चिनियाँ सफ्टवेयर कम्पनीका सेयरसमेत पछिल्लो निर्णयपछि उकालो लागेका छन् । हनान काइलिनसेक टेक्नोलोजी र आर्चरमाइन्ड टेक्नोलोजीको सेयर मूल्य दैनिक सीमासम्म अर्थात् २० प्रतिशतले बढेको तथा चाइना नेसनल सफ्टवेयर एन्ड सर्भिसको सेयर १० प्रतिशत बढेको रिपोर्टमा उल्लेख छ ।
चीनले सन् २०१७ मा सरकारी प्रयोजनका लागि विशेष रूपमा तयार गरिएको उक्त सफ्टवेयर सार्वजनिक गरेको थियो । यो परियोजना चिनियाँ सरकारी सुरक्षा मापदण्ड पुरा गर्ने उद्देश्यले माइक्रोसफ्ट र चिनियाँ सरकारी स्वामित्वको चाइना इलेक्ट्रोनिक्स टेक्नोलोजी ग्रुप कर्पोरेसनको संयुक्त पहलमार्फत अघि बढाइएको थियो ।
तर पछिल्ला वर्षमा चीनले स्वदेशी सफ्टवेयरलाई प्राथमिकता दिँदै गएपछि सरकारी प्रणालीमा माइक्रोसफ्टको पहुँच क्रमशः कमजोर हुँदै गएको छ । रोयटर्सका अनुसार सन् २०२३ को अन्त्यदेखि २०२६ को मध्यसम्म प्रकाशित चीनका सरकारी कम्प्युटर प्रणालीसम्बन्धी ६ वटा खरिद निर्देशिकामध्ये ५ वटाले माइक्रोसफ्टका उत्पादन सिफारिस गरेका थिएनन् ।
यसैबीच, अमेरिका-चीनबीचको प्रविधि प्रतिस्पर्धा र भू-राजनीतिक तनावले माइक्रोसफ्टको चीनस्थित व्यवसायमा समेत दबाब बढाएको छ । पछिल्ला पाँच वर्षमा कम्पनीले चीनमा रहेका कम्तीमा १५ वटा कार्यालय, शाखा वा संयुक्त उद्यम बन्द गरेको रोयटर्सले जनाएको छ ।
विन्डोज हटाउने पछिल्लो कदमले भने चीनले सरकारी प्रणालीमा विदेशी सफ्टवेयरको निर्भरता घटाउँदै स्वदेशी अपरेटिङ सिस्टमतर्फ जाने प्रक्रिया थप तीव्र बनाउन खोजेको सङ्केत गरेको छ ।