एप्पलले आफ्ना प्रयोगकर्ताहरूका लागि क्यामेरा र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधियुक्त नयाँ एयरपड्स निर्माण गरिरहेको खबर बाहिरिएको छ। हालै सार्वजनिक भएको macOS Tahoe 26.7 रिलिज क्यान्डिडेट (RC) सफ्टवेयरमा यो नयाँ एयरपड्सको आधिकारिक डेमो भिडिओ फेला परेको हो।
सफ्टवेयर अनुसन्धानकर्ता आरोन पेरिस र प्रविधि पोर्टल म्याकरुमर्सले म्याकओएसको कोडमा यो भिडिओ पत्ता लगाएका हुन्। भिडिओमा एयरपड्स लगाएका एक व्यक्तिले हातको पुस्तकतर्फ इसारा गर्दै त्यसलाई सम्झन सिरीलाई अनुरोध गरेको देखिन्छ। यसमा सिरीले 'भिजुअल इन्टेलिजेन्स' मार्फत जानकारी सुरक्षित राख्न मद्दत गर्ने भ्वाइस-ओभर सुन्न सकिन्छ।
डिजाइन र नयाँ फिचरहरू
नयाँ एयरपड्सको डिजाइन हालको एयरपड्स प्रो जस्तै देखिए पनि यसको डाँठ (Stem) भने केही बाक्लो रहेको छ। साथै, यदि प्रयोगकर्ताको लामो कपालले क्यामेरा छोपेमा प्रणालीले 'Hair Detected' भन्ने सन्देश देखाएर कपाल पन्छाउन आग्रह गर्ने फिचर सफ्टवेयर कोडमा भेटिएको छ।
प्रविधि पत्रकार मार्क गुर्म्यानका अनुसार यी क्यामेराहरू फोटो वा भिडिओ खिच्नका लागि नभई सिरीका लागि 'आँखा'को रूपमा काम गर्न डिजाइन गरिएका हुन्। दायाँ र बायाँ दुवै इयरबडमा रहने न्यून गुणस्तर (Low Resolution) का क्यामेराले वरपरको वातावरण पहिचान गरी सिरीलाई जानकारी दिनेछन्। यसले गर्दा प्रयोगकर्ताले फोन नझिकिकन आफूले हेरिरहेको वस्तु वा बाटोका बारेमा सिरीसँग सोधपुछ गर्न सक्नेछन्।
सार्वजनिक हुने सम्भावित मिति
यो प्रविधिको विकास सन् २०२४ देखि सुरु भएको हो। विश्लेषक मिङ-ची कुओले सन् २०२६ सम्म यसको मास प्रोडक्सन सुरु हुने अनुमान गरेका थिए। तर, पछिल्लो रिपोर्ट अनुसार एआई भिजुअल मोडेल र आपूर्ति शृङ्खलाका चुनौतीहरूका कारण यसको लन्च मिति धकेलिएको छ।
प्रोटोटाइप सङ्कलनकर्ता कोसुतामीका अनुसार अहिले यसको विकास कार्य केही समयका लागि रोकिएको छ। हालको जानकारी अनुसार एप्पलले सन् २०२७ मा आफ्नो २० औं वार्षिकोत्सवका अवसरमा यसलाई बजारमा ल्याउने तयारी गरिरहेको छ। एप्पलले कोडनेम B790 (एयरपड्स प्रो ३ को क्यामेरा संस्करण) र कोडनेम B798 (नेक्स्ट जेनेरेसन एयरपड्स प्रो) गरी दुई भेरियन्टमा काम गरिरहेको बुझिएको छ।
गोपनीयताको चिन्ता
क्यामेरायुक्त वेयरेबल डिभाइस भएकाले प्रयोगकर्ताको गोपनीयतालाई लिएर प्रश्नहरू उठेका छन्। सामाजिक सञ्जालमा धेरैले यसको आलोचना समेत गरिरहेका छन्। एप्पलले यो चिन्ता सम्बोधन गर्न डेटा क्लाउडमा शेयर हुँदा बल्ने विशेष एलईडी इन्डिकेटर लाइट राख्ने योजना बनाएको छ।