काठमाडौं । विश्वव्यापी स्मार्टफोन बजार सन् २०२६ मा १४.३ प्रतिशतले खुम्चिने प्रक्षेपण गरिएको छ । मेमोरी चिप्सको आपूर्ति अभाव, कम्पोनेन्टको बढ्दो मूल्य र उपभोक्ताको घट्दो खरिद क्षमताका कारण स्मार्टफोनको माग प्रभावित हुने बजार अनुसन्धान संस्था काउन्टरप्वाइन्ट रिसर्चले जनाएको छ ।
काउन्टरप्वाइन्टको पछिल्लो Smartphone Market Outlook Tracker अनुसार २०२६ मा विश्वभर स्मार्टफोनको ढुवानी १४.३ प्रतिशतले घट्नेछ । बजारको गिरावट सन् २०२७ सम्म पनि कायम रहने देखिएको छ । आउँदो वर्ष ढुवानी थप १.४ प्रतिशत घट्ने अनुमान छ । त्यसपछि भने सन् २०२८ देखि बजारमा सुधार आउने प्रक्षेपण गरिएको छ ।
स्मार्टफोन बजारमा आएको गिरावटको मुख्य कारण आपूर्ति श्रृङ्खलामा देखिएको दबाब र कम्पोनेन्टको बढ्दो लागत हो । विशेषगरी मोबाइल मेमोरीको आपूर्ति सबैभन्दा ठुलो चुनौती बनेको काउन्टरप्वाइन्टको विश्लेषण छ ।
एआईका लागि प्रयोग हुने डेटा सेन्टरको माग बढेसँगै मेमोरी चिपको माग पनि तीव्र बनेको छ । यसले स्मार्टफोन उद्योगका लागि उपलब्ध मेमोरीको आपूर्तिमा दबाब बढाएको छ । त्यसमाथि चिपसेटको मूल्य बढ्दा प्रिमियमदेखि मिडरेन्ज र पुराना उत्पादन प्लेटफर्मसम्मको लागत प्रभावित भएको छ ।
यसको असर विशेषगरी कम मूल्यका स्मार्टफोनमा बढी पर्ने देखिएको छ । कम्पोनेन्टको लागत बढेपछि उत्पादकले फोनको मूल्य बढाउनुपर्ने वा कम मार्जिन भएका मोडलको उत्पादन घटाउनुपर्ने अवस्था आउन सक्छ ।
समग्र बजारमा गिरावट आए पनि दक्षिण कोरियाली कम्पनी सामसङ भने विश्वको सबैभन्दा ठुलो स्मार्टफोन निर्माता बन्ने प्रक्षेपण गरिएको छ । काउन्टरप्वाइन्टका अनुसार सन् २०२६ मा सामसङको स्मार्टफोन सिपमेन्ट करिब ०.८ प्रतिशतले बढ्न सक्छ । समग्र बजार १४.३ प्रतिशतले घट्ने अवस्थामा पनि कम्पनीको ढुवानी बढ्नुले सामसङलाई बजारको शीर्ष स्थानमा फर्काउन सहयोग गर्नेछ ।
सामसङको बलियो आपूर्ति श्रृङ्खला, विश्वका विभिन्न बजारमा फैलिएको उत्पादन पोर्टफोलियो र मेमोरी तथा अन्य सेमिकन्डक्टरको तुलनात्मक रूपमा भरपर्दो आपूर्तिलाई यसको मुख्य कारण मानिएको छ ।
सामसङले यसअघि नै सन् २०२६ को दोस्रो त्रैमासिकमा एप्पललाई पछि पार्दै विश्व स्मार्टफोन बजारको शीर्ष स्थानमा फर्किसकेको छ । अप्रिलदेखि जुनसम्म सामसङको विश्व बजार हिस्सा २४ प्रतिशत पुगेको थियो भने एप्पल २० प्रतिशत हिस्सासहित दोस्रो स्थानमा थियो ।
बजार संकुचनका बाबजुद एप्पलले भने समग्र उद्योगको तुलनामा राम्रो प्रदर्शन गर्ने काउन्टरप्वाइन्टको अनुमान छ । तर फोनको तुलनात्मक रूपमा उच्च मूल्य र नयाँ मोडल सार्वजनिक गर्ने फरक समयतालिकाका कारण यसको ढुवानी वृद्धि सीमित रहनेछ ।
सन् २०२६ को दोस्रो त्रैमासिकमा एप्पलको स्मार्टफोन सिपमेन्ट वार्षिक आधारमा ३ प्रतिशत बढेको थियो । कम्पनीको बजार हिस्सा २० प्रतिशत पुगेको थियो, जुन दोस्रो त्रैमासिकका लागि रेकर्ड हो ।
बजारको यो गिरावटको ठुलो असर चिनियाँ स्मार्टफोन उत्पादकमा पर्ने देखिएको छ । काउन्टरप्वाइन्टले २०२६ मा प्रमुख चिनियाँ ब्रान्डको स्मार्टफोन ढुवानी १५ देखि ३४ प्रतिशतसम्म घट्न सक्ने प्रक्षेपण गरेको छ ।
साओमी, ओप्पो र भीभोजस्ता कम्पनीको व्यवसायमा यसको प्रभाव तुलनात्मक रूपमा बढी पर्नुको कारण उनीहरूको कम मूल्य र उदीयमान बजारमा निर्भरता हो । यस्ता बजारमा उपभोक्ता मूल्यप्रति बढी संवेदनशील हुने भएकाले कम्पोनेन्टको लागत बढ्दा मागमा तत्काल असर पर्न सक्छ ।
यसको विपरीत, प्रिमियम स्मार्टफोन सेगमेन्ट भने तुलनात्मक रूपमा बलियो रहने अनुमान छ । उच्च मूल्यका फोनमा ब्रान्डप्रतिको निष्ठा, किस्ताबन्दी तथा वित्तीय योजनाको उपलब्धता र एआईमा आधारित नयाँ सुविधाले मागलाई केही हदसम्म टिकाइराख्ने काउन्टरप्वाइन्टको विश्लेषण छ ।
मेमोरी आपूर्ति सहज नभएसम्म स्मार्टफोन कम्पनीहरूले धेरै फोन बिक्री गर्नेभन्दा नाफा जोगाउने रणनीति अपनाउने सम्भावना छ । त्यसका लागि कम नाफा हुने मोडेलको संख्या घटाउने, स्टोरेज क्षमताको संयोजन परिवर्तन गर्ने तथा पुराना पुस्ताका फोन र रिफर्बिस्ड उपकरणको बिक्री बढाउने रणनीति अपनाउन सक्ने काउन्टरप्वाइन्टको अनुमान छ ।
काउन्टरप्वाइन्टका अनुसार मेमोरीको आपूर्ति समस्या सन् २०२७ सम्म कायम रहने सम्भावना छ। त्यसैले आगामी वर्ष पनि स्मार्टफोन बजारका लागि चुनौतीपूर्ण रहनेछ ।
यद्यपि दीर्घकालमा भने बजारमा पुनः वृद्धि हुने अपेक्षा छ । काउन्टरप्वाइन्टले सन् २०२८ देखि स्मार्टफोन बजारमा सुधार सुरु हुने र दशकको अन्त्यसम्ममा विश्व स्मार्टफोन बजार २०२४-२०२५ को स्तरमा फर्किने प्रक्षेपण गरेको छ । यसमा आगामी ६जी प्रविधिको व्यावसायिक विस्तारले समेत नयाँ माग सिर्जना गर्ने अपेक्षा गरिएको छ ।