काठमाडौं । भारतको महाराष्ट्रस्थित छत्रपति सम्भाजीनगरमा आईफोनको किस्ता तिर्ने विषयमा भएको पारिवारिक विवादले उग्र रूप लिँदा एकै परिवारका तीन जनाको निधन भएको छ । १८ वर्षीय कुणाल चान्दगुडेले भीरबाट हामफाल्न खोज्दा उनलाई बचाउने क्रममा बुबा र त्यो दृश्य देखेपछि आमाले पनि भीरबाट फाल हाल्दा तीनै जनाको ज्यान गएको हो ।
भारतीय सञ्चार माध्यम एनडीटिभी का अनुसार वालुज एमआईडीसी प्रहरी स्टेसन अन्तर्गत पर्ने तिसगाउँस्थित एउटा डाँडामा शुक्रबार यो दुखद घटना भएको थियो । प्रहरीका अनुसार १८ वर्षीय कुणालले केही समयअघि आईफोन किनेका थिए । तर, उनले त्यसको किस्ता तिर्न सकिरहेका थिएनन् । सोही किस्ताको रकम माग गर्ने क्रममा शुक्रबार बिहान बुबा मुरलीधरसँग उनको चर्को भनाभन भएको थियो । बुबासँगको विवादपछि झोक्किएका कुणाल बिहान १० बजेतिर घरबाट निस्किएर नजिकैको डाँडाको भीरमा पुगेर हामफाल्ने धम्की दिन थालेका थिए ।
कुणाल भीरको डिलमा पुगेपछि उनका आमा सङ्गीता, बुबा मुरलीधर र स्थानीयबासी पनि त्यहाँ पुगेर उनलाई सम्झाउने प्रयास गरेका थिए । भाइरल भिडिओमा एक व्यक्तिले ‘आमाको लागि भए पनि बच’ भन्दा कुणालले ‘छैन, म मर्नै पर्छ, यो बाहेक अरू कुनै उपाय छैन’ भन्दै जिद्दी गरिरहेको देखिन्छ । तिसगाउँका पूर्वसरपञ्च सञ्जय जाधवका अनुसार स्थानीयले कुणाललाई ‘आईफोन १५ प्रो’ किनिदिने लोभ देखाउँदै धेरै अनुनय विनय गरे पनि उनले मर्नु नै अन्तिम विकल्प भएको भन्दै काँध हल्लाइरहेका थिए ।
करिब तीन घण्टासम्म चलेको यो स्थितिपछि दिउँसो १ बजेतिर बुबा मुरलीधर आफै भीरको डिलमा उक्लिएर छोरालाई तानेर बचाउने अन्तिम प्रयास गरे । तर, तानातानका क्रममा नियन्त्रण गुमाउँदा बुबा र छोरा दुवै गहिरो खोँचमा खसे । आफ्ना श्रीमान् र छोरा आँखाअगाडि भीरबाट खसेको देखेलगत्तै विक्षिप्त बनेकी आमा सङ्गीताले पनि सोही भीरबाट पछि-पछि हामफालिन् ।
भीरबाट खसेका तीनै जनाको घटनास्थलमै मृत्यु भएपछि प्रहरीले शव नियन्त्रणमा लिई पोष्टमार्टमका लागि पठाएको छ । घटनास्थलमा प्रहरी र दमकल टोली उपस्थित हुँदाहुँदै पनि सुरक्षा जाली किन प्रयोग गरिएन भन्ने प्रश्न उठेको छ । अहिले त्यही घटनाका फरक फरक कोणका भिडिओहरू सामाजिक सञ्जालमा छ्यापछ्याप्ती देखिन थालेका छन् । प्रहरीले घटनाको मुद्दा दर्ता गरी थप कानुनी प्रक्रिया अघि बढाएको छ भने किशोर डिप्रेसनमा थिए/थिएनन् वा पारिवारिक विवादको अन्य कारणबारे अनुसन्धान भइरहेको जनाएको छ ।