सामसङले सन् २०२७ को पहिलो त्रैमासिकमा आफ्नो नयाँ फ्ल्यागशिप स्मार्टफोन सिरिज 'ग्यालेक्सी एस-२७' सार्वजनिक गर्ने तयारी गरिरहेको छ। आगामी ग्यालेक्सी एस-२७ अल्ट्रा (Galaxy S27 Ultra) मा ब्याट्री र क्यामेरा प्रविधिमा उल्लेख्य अपग्रेड देख्न पाइने भए पनि यसको मूल्यमा राम्रै वृद्धि हुने सङ्केत मिलेको छ।
मूल्यमा ८.३ प्रतिशतको वृद्धि
दक्षिण कोरियाली सप्लाई चेन स्रोतका अनुसार एस-२७ अल्ट्राको मूल्य कोरियामा १ लाख ५० हजार वन (करिब १६ हजार नेपाली रुपैयाँ) सम्म बढ्न सक्छ। यो अघिल्लो ग्यालेक्सी एस-२६ अल्ट्राको तुलनामा करिब ८.३ प्रतिशतको वृद्धि हो। अमेरिकी बजारमा यस स्मार्टफोनको सुरुवाती मूल्य १,३९९.९९ डलरसम्म पुग्ने अनुमान गरिएको छ। कम्पोनेन्टहरू, विशेष गरी प्रोसेसर, र्याम र स्टोरेजको लागत बढेकाले मूल्य वृद्धि अनिवार्य जस्तै बनेको छ।
सिलिकन-कार्बन ब्याट्री र नयाँ क्यामेरा डिजाइन
मूल्य बढे तापनि यस पटक फोनमा सिलिकन-कार्बन ब्याट्री प्रविधि प्रयोग हुनेछ। एस-२७ अल्ट्रामा ५,५३४ एमएएचको रेटेड ब्याट्री क्षमता (५,७०० देखि ५,८०० एमएएचका रूपमा प्रचार गरिने) रहनेछ। यो सन् २०२० यता सामसङले कायम राखेको ५,००० एमएएचको सीमा भन्दा १५ प्रतिशत बढी हो।
क्यामेराको हकमा कम्पनीले पुरानो फ्लोटिङ रिङ डिजाइन हटाएर एकीकृत मोड्युल (Unified Module) ल्याउनेछ। फोनमा २०० मेगापिक्सेलको मुख्य क्यामेरा, ५० मेगापिक्सेलको अल्ट्रा-वाइड, ५ गुणा अप्टिकल जुम सहितको ५० मेगापिक्सेल टेलिफोटो र दोस्रो टेलिफोटो सेन्सर रहनेछ। साथै, सेल्फीका लागि पहिलो पटक OIS (अप्टिकल इमेज स्टेबिलाइजेसन) फिचर सहितको १६ मेगापिक्सेल स्क्वायर सेन्सर समावेश गरिनेछ।
हार्डवेयर र प्रदर्शन
ग्यालेक्सी एस-२७ अल्ट्रामा क्वालकमको २ न्यानोमिटर (2nm) स्न्यापड्रागन ८ इलाइट जेन ६ प्रो (Snapdragon 8 Elite Gen 6 Pro) वा एक्सिनस २७०० चिपसेट प्रयोग हुनेछ। फोनमा ६.९ इन्चको क्यूएचडी+ प्राइभेसी डिस्प्ले रहनेछ। विश्वव्यापी मेमोरी अभावका कारण यसमा LPDDR5X र्याम (१२ जीबी/१६ जीबी) र UFS 4.0 स्टोरेज रहने सम्भावना छ। सामसङले एस-२७ सिरिजअन्तर्गत एस-२७, एस-२७+, एस-२७ प्रो र एस-२७ अल्ट्रा गरी चार मोडल एकैसाथ बजारमा ल्याउनेछ।