गुगलले आफ्ना एन्ड्रोइड स्मार्टफोन, ट्याब्लेट, स्मार्टवाच लगायतका डिभाइसमा लामो समयदेखि उपलब्ध गराउँदै आएको भर्चुअल सहयोगी 'गुगल असिस्टेन्ट' (Google Assistant) लाई हटाउने तयारी थालेको छ। कम्पनीले आगामी सेप्टेम्बर ५ देखि यो सेवालाई हटाउँदै त्यसको स्थानमा आफ्नै शक्तिशाली एआई च्याटबट 'जेमिनाई' (Gemini) लाई ल्याउने भएको छ।
अन्तर्राष्ट्रिय प्रविधि समाचार अनुसार गुगलले आफ्ना प्रयोगकर्ताहरूलाई ईमेल पठाउँदै सेप्टेम्बर ५ देखि यो नयाँ परिवर्तन क्रमशः लागु हुने जानकारी गराउन थालिसकेको छ। यो अद्यावधिक प्रक्रिया पूर्ण रूपमा सम्पन्न हुन केही हप्ता लाग्न सक्छ, जसपश्चात् सम्बन्धित डिभाइसमा पुरानो गुगल असिस्टेन्ट प्रयोग गर्न पाइने छैन।
कुन-कुन डिभाइसमा पर्छ यसको प्रभाव?
यो नयाँ परिवर्तन जेमिनाई चलाउन आवश्यक पर्ने न्यूनतम स्पेसिफिकेसन पुगेका र जेमिनाई सेवा उपलब्ध भएका क्षेत्रका एन्ड्रोइड फोनहरूमा मात्र लागु हुनेछ। यसका साथै जेमिनाई सपोर्ट गर्ने हेडफोन जस्ता स्मार्टफोनसँग पेयर भएका उपकरणहरूमा पनि यसको प्रत्यक्ष असर पर्नेछ।
पुराना डिभाइस र अन्य उपकरणको स्थिति
यद्यपि, गुगलले हालका लागि गुगल टिभी (Google TV), गुगल होम (Google Home) र स्मार्ट डिस्प्ले (Smart Display) जस्ता घरमा प्रयोग हुने उपकरणहरूमा कुनै फेरबदल नगर्ने स्पष्ट पारेको छ।
त्यस्तै, २ जीबीभन्दा कम र्याम (RAM) भएका र एन्ड्रोइड ९ वा सोभन्दा पुरानो अपरेटिङ सिस्टममा चल्ने पुराना तथा कम क्षमताका फोनहरूमा भने आधारभूत कामका लागि पुरानै असिस्टेन्ट सेवा यथावत् रहनेछ।
गाडी र एन्ड्रोइड अटोको हकमा
सवारी साधनको हकमा भने गाडीको आफ्नै सिस्टममा पहिल्यै इन्टिग्रेट भइसकेका गुगल सेवाहरूमा असिस्टेन्ट उपलब्ध भइरहनेछ। तर, प्रयोगकर्ताको मोबाइलबाट 'एन्ड्रोइड अटो' (Android Auto) मार्फत कनेक्ट गरिने गाडीहरूमा भने अब गुगल असिस्टेन्ट उपलब्ध हुने छैन।
नयाँ प्रविधि प्रयोग गर्न इच्छुक प्रयोगकर्ताहरूले गुगल प्ले स्टोरबाट जेमिनाई एप डाउनलोड गरी सेवा लिन सक्नेछन् भने इच्छा नहुने प्रयोगकर्ताहरू यो च्याटबट प्रयोग नगरी बस्न पनि सक्नेछन्।