टेक जाइन्ट सामसङ इलेक्ट्रोनिक्सले नयाँ पुस्ताका ग्यालेक्सी जेड सिरिज स्मार्टफोन र ग्यालेक्सी वाच सिरिजका स्मार्टवाचहरू विश्वव्यापी रूपमा सार्वजनिक गरेको छ। कम्पनीले ‘ग्यालेक्सी जेड फोल्ड८ अल्ट्रा’, ‘ग्यालेक्सी जेड फोल्ड८’, ‘ग्यालेक्सी जेड फ्लिप८’ सँगै ‘ग्यालेक्सी वाच अल्ट्रा२’ र ‘ग्यालेक्सी वाच९’ बजारमा ल्याएको हो। यी नयाँ उत्पादनहरूको बिक्री शुक्रबार (७ अगस्ट) देखि चयन गरिएका देशहरूमा सुरु भई क्रमशः अन्य बजारहरूमा पनि विस्तार गरिने सामसङले जनाएको छ।
सामसङका अनुसार नयाँ फोल्डेबल सिरिजप्रति प्रयोगकर्ताहरूको आकर्षण निकै उच्च देखिएको छ। यस वर्षको नयाँ सिरिजको प्रि-अर्डर अघिल्लो पुस्ताको तुलनामा ३० प्रतिशतभन्दा धेरैले बढेको कम्पनीको भनाइ छ। सात पुस्तासम्मको फोल्डेबल प्रविधि विकासका आधारमा कम्पनीले प्रयोगकर्तालाई फरक-फरक आवश्यकता अनुसार तीन प्रकारका फोल्डेबल अनुभव प्रदान गर्ने गरी यी डिभाइसहरू तयार पारेको छ।
ग्यालेक्सी जेड फोल्ड८ र फोल्ड८ अल्ट्राका विशेषता
२०१ ग्राम तौल भएको ग्यालेक्सी जेड फोल्ड८ सामसङको अहिलेसम्मकै सबैभन्दा हल्का फोल्डेबल फोन हो। यसमा प्रयोग गरिएको नयाँ ‘फ्लेक्स टाइटेनियम’ प्रविधिले फोनलाई पातलो र बलियो बनाउनुका साथै स्क्रिनमा पर्ने क्रिज (रेखा) लाई समेत कम गर्छ। फोनको फराकिलो कभर स्क्रिन दैनिक कामका लागि उपयुक्त छ भने ४:३ अनुपातको मुख्य स्क्रिन भिडियो हेर्न र गेमिङका लागि उत्कृष्ट हुन्छ। यसमा रहेको जेमिनाई नोटबुक सुविधाले नोट, अडियो, फाइल र कागजातहरूलाई एउटै ठाउँमा व्यवस्थापन गर्न मद्दत गर्छ।
त्यस्तै, ‘ग्यालेक्सी जेड फोल्ड८ अल्ट्रा’ मा मल्टिटास्किङका लागि ८ इन्चको मुख्य डिस्प्ले दिइएको छ। यसमा २०० मेगापिक्सेलको मुख्य क्यामेरा (२०० एमपी मोदमै एचडीआर सपोर्टसहित) र ५० मेगापिक्सेलको अल्ट्रा-वाइड क्यामेरा रहेको छ। फोनमा ५,००० एमएएच क्षमताको ब्याट्री, ४५ वाट फास्ट चार्जिङ र ठुलो ग्रेफाइट कुलिङ संरचना राखिएको छ। यसमा प्रयोगकर्ताको गतिविधि र कुराकानीका आधारमा अर्को कार्यको सुझाव दिने ‘नाउ नज’ (Now Nudge) सुविधा पनि उपलब्ध छ।
ग्यालेक्सी जेड फ्लिप८ र ग्यालेक्सी वाच सिरिज
अहिलेसम्मकै सबैभन्दा पातलो फ्लिप फोनका रूपमा प्रस्तुत गरिएको ग्यालेक्सी जेड फ्लिप८ मा ५० मेगापिक्सेल क्यामेरा, प्रोभिजुअल इन्जिन र फ्लेक्सक्याम उपलब्ध छ। यसको ‘फ्लेक्सविन्डो’ (FlexWindow) बाट फोन नखोलीकनै कभर स्क्रिनबाट एप, सूचना र एआई सुविधाहरूमा पहुँच पाउन सकिन्छ। साथै, ‘नाउ ब्रिफ’ सुविधाले प्रयोगकर्ताको दैनिक तालिका र रुचिका आधारमा जानकारी देखाउँछ।
जेड फोल्ड८ अल्ट्रा, जेड फोल्ड८ र जेड फ्लिप८ तीनै मोडलमा डुअल रेकर्डिङ र चयन गरिएको व्यक्तिलाई स्वतः ट्र्याक गर्ने ‘माई फ्यानक्याम’ (My FanCam) सुविधा छ। अर्कोतर्फ, ‘ग्यालेक्सी वाच अल्ट्रा२’ र ‘ग्यालेक्सी वाच९’ स्मार्टवाचहरू स्न्यापड्रागन वेयर इलाइट प्लेटफर्ममा आधारित छन्, जसले प्रयोगकर्ताको दैनिक स्वास्थ्य तथ्याङ्क विश्लेषण गरी उपयोगी सुझावहरू प्रदान गर्छन्।