काठमाडौं । एप्पलले आफ्ना आईफोन डिभाइसबाट खिचिएका सक्कली तस्वीरहरू सहजै पहिचान गर्न सकिने नयाँ प्रविधि ल्याउने भएको छ । इन्टरनेटमा एआई सिर्जित नक्कली फोटोहरूको बिगबिगी बढ्दै गएपछि एप्पलले आफ्ना डिभाइसका क्यामेरा हार्डवेयरबाट खिचिएका तस्वीरलाई प्रमाणीकरण गरी तिनको आधिकारिकता पुष्टि गर्ने प्रणाली विकास गरिरहेको हो ।
पछिल्लो समय जेनरेटिभ एआईका माध्यमबाट सेकेन्डभरमै वास्तविक देखिने नक्कली तस्वीर बनाउन सकिने भएकाले कुन फोटो साँच्चिकै क्यामेराबाट खिचिएको हो र कुन एआईले बनाएको हो भनेर छुट्याउन मुस्किल हुँदै गएको छ । यसअघि गुगलले ‘सिन्थ-आईडी’ मार्फत एआई फोटोमा वाटरमार्क राख्ने र मेटाले एआई सामग्रीमा लेबल लगाउने प्रविधि ल्याएका थिए ।
तर, एप्पलले भने आफ्नै आईफोन क्यामेराबाट खिचिएका सक्कली फोटोको आधिकारिकता पुष्टि गरेर नक्कली फोटोलाई निरुत्साहित गर्ने फरक बाटो रोजेको छ ।
आगामी आईओएस अपडेटको बेटा कोडमा फेला परेको विवरण अनुसार एप्पलले ‘एप्पल रेफरेन्स इमेज’ नामको फिचरमा काम गरिरहेको छ । यो प्रविधिले आईफोनको क्यामेरा सेन्सर र हार्डवेयरसँग जोडिएका युनिक डेटा प्रयोग गरी फोटो साँच्चिकै सोही आईफोनबाट खिचिएको हो वा होइन भनेर जाँच्ने र पुष्टि गर्नेछ । यसका साथै एप्पलले आफ्नै ‘इमेज प्लेग्राउन्ड’ एआईबाट बनेका तस्वीरमा पनि मेटाडेटामार्फत चिह्न लगाउने व्यवस्था गर्दैछ ।
आफ्नो डिभाइसको फोटो पहिचान गर्ने यो प्रक्रियामा एप्पलले प्रयोगकर्ताको गोपनीयतालाई उच्च प्राथमिकता दिएको एप्पलबारे रिपोर्ट गर्ने प्लेटफर्महरूले उल्लेख गरेका छन् ।
तस्वीर प्रमाणीकरण गर्दा एप्पलले सक्कली फोटो आफैँ हेर्दैन । बरु, फोटोलाई ‘प्राइभेट क्लाउड कम्प्युट’ मा पठाएर क्यामेरा सेन्सरको निश्चित डेटा र मेटाडेटा मात्र जाँचिन्छ ।
यदि कुनै आईफोनको क्यामेरा सेन्सरमा गडबडी वा ह्याकिङ भएको पाइएमा एप्पलले उक्त सेन्सरबाट खिचिएका फोटोको पूर्व-प्रमाणीकरण समेत रद्द गर्न सक्नेछ ।
आईफोनबाट खिचिएको फोटो हो भनेर पछि पहिचान गराउनका लागि प्रयोगकर्ताले क्यामेरामा विशेष मोड प्रयोग गर्नुपर्ने हुन्छ । यो फिचर सार्वजनिक भएपछि प्रयोगकर्ताले सेटिङ्सभित्र क्यामेरामा गएर ‘रेफरेन्स इमेज’ (Reference Image) को विकल्प छनोट गर्नुपर्नेछ । त्यहाँ देखिने ‘रेफरेन्स मोड’ अन गरेपछि मात्र यो सुविधा उपलब्ध हुनेछ । सामान्य मोडको साटो ‘रेफरेन्स मोड’मा फोटो खिचेपछि मात्र डिभाइसको हार्डवेयरसम्बन्धी आवश्यक प्रमाणहरू फोटोमा समावेश हुन्छन् ।
फोटो खिच्नेबित्तिकै यो स्वतः प्रमाणीकृत भने हुँदैन । प्रयोगकर्ताले आफूले चाहेको समयमा फोटो प्रमाणीकरणका लागि पठाउन सक्छन् । प्राइभेट क्लाउड कम्प्युटले तस्वीर र आईफोनको हार्डवेयर डेटा जाँच गरी फोटो सक्कली भएको पुष्टि गरेपछि त्यसलाई एउटा युनिक आईडी प्रदान गर्दछ ।
आईफोनबाट खिचिएको फोटो अन्य व्यक्तिलाई पठाउँदा, प्राप्त गर्ने व्यक्तिको एप्पल डिभाइसले एप्पलको सर्भरलाई जानकारी नदिइकनै डिभाइसभित्रै उक्त फोटो साँच्चै एप्पल डिभाइसबाटै खिचिएको हो वा होइन भनेर जाँच्न सक्नेछ ।
फोटो शेयर गर्दा ‘All Photos Data’ विकल्प रोजिएमा फोटोसँगै आईफोन हार्डवेयरको युनिक आईडी र अनक्रप (Uncropped) फुटेज पनि पठाउन सकिन्छ ।
यसका साथै, कम्प्युटर (म्याक वा पीसी) मा फोटो ट्रान्सफर गर्दा पनि उक्त फोटो आईफोनबाटै खिचिएको हो भन्ने प्रमाण नष्ट नहोस् भन्नका लागि एप्पलले ‘ट्रान्सफर विथ प्रोभिन्यान्स’ भन्ने नयाँ विकल्प ल्याउँदैछ । यो विकल्प अन गरेर यूएसबीमार्फत डेटा ट्रान्सफर गर्दा फोटोको रेफरेन्स इमेज डेटा र हार्डवेयर पहिचान कम्प्युटरमा पनि सुरक्षित रहने बताइएको छ ।