सामसङका नयाँ फोल्डेबल फोन र स्मार्टवाच नेपाली बजारमा
सामसङले आफ्ना नयाँ पुस्ताका ग्यालेक्सी 'जेड' सिरिजका फोल्डेबल स्मार्टफोन तथा नयाँ स्मार्टवाचहरू नेपाली बजारमा बिक्री खुला गरेको छ। कम्पनीका अनुसार ग्यालेक्सी जेड फोल्ड ८ अल्ट्रा, ग्यालेक्सी जेड फोल्ड ८, ग्यालेक्सी जेड फ्लिप ८ सहित ग्यालेक्सी वाच अल्ट्रा २ र वाच ९ को देशव्यापी बिक्री भोलि बुधबारदेखि सुरु हुँदैछ।
प्रि-अर्डरमा ग्राहकको रोजाइ
नयाँ सिरिजप्रति नेपाली ग्राहकहरूको उच्च आकर्षण देखिएको सामसङको भनाइ छ। प्रि-अर्डर डेटा अनुसार ग्यालेक्सी जेड फोल्ड ८ अल्ट्राको ‘भ्वाइलेट स्याडो’, जेड फोल्ड ८ को ‘ल्याभेन्डर’ र जेड फ्लिप ८ को ‘पिङ्क’ रङ प्रयोगकर्ताहरूले सबैभन्दा बढी मन पराएका छन्।
प्रविधि र विशेषताहरू
ग्यालेक्सी जेड फोल्ड ८ अल्ट्रामा ८ इन्चको ठूलो मुख्य डिस्प्ले, उन्नत क्यामेरा प्रणाली र मल्टिटास्किङलाई सहज बनाउन ‘नाउ नज’ जस्ता सुविधाहरू दिइएको छ। त्यस्तै, ग्यालेक्सी जेड फोल्ड ८ मा ४:३ रेसियोको मुख्य स्क्रिन र फराकिलो कभर स्क्रिन राखिएको छ। अर्कोतर्फ, स्टाइलिश जेड फ्लिप ८ मा ५० मेगापिक्सेलको मुख्य क्यामेरा र विशेष फ्लेक्सक्याम प्रविधिको प्रयोग गरिएको छ।
स्वास्थ्य व्यवस्थापनलाई लक्षित गरी ल्याइएका ग्यालेक्सी वाच अल्ट्रा २ र वाच ९ मा भने शक्तिशाली स्न्यापड्रागन वेयर एलिट प्लेटफर्म जडान गरिएको छ। यी स्मार्टवाचहरूले प्रयोगकर्ताको दैनिक स्वास्थ्य तथ्याङ्क ट्रयाक गरी उपयोगी सल्लाह दिनेछन् भने यसमा लामो ब्याट्री ब्याकअप समेत प्राप्त हुनेछ।
मूल्य र सरल किस्ताबन्दी सुविधा
नेपालमा ग्यालेक्सी जेड फ्लिप ८ को सुरुवाती मूल्य १ लाख ९४ हजार ९९९ रुपैयाँ कायम गरिएको छ। त्यस्तै ग्यालेक्सी जेड फोल्ड ८ सिरिजको मूल्य २ लाख ७४ हजार ९९९ रुपैयाँदेखि ३ लाख ३९ हजार ९९९ रुपैयाँसम्म तोकिएको छ। स्मार्टवाच खरिद गर्न चाहनेका लागि मूल्य ६६ हजार ४९९ रुपैयाँदेखि १ लाख २३ हजार ४९९ रुपैयाँसम्म रहेको छ।
यी डिभाइसहरू खरिद गर्न चाहने ग्राहकका लागि सामसङले २४ महिनाको सरल किस्ताबन्दी (EMI) सुविधा समेत उपलब्ध गराएको छ। जस अनुसार न्यूनतम ५ हजार २९१ रुपैयाँको मासिक किस्तामा नयाँ फोन खरिद गर्न सकिनेछ। यो प्रक्रियाका लागि ग्राहकले आफ्नो नागरिकताको प्रमाणपत्र मात्र बुझाए पुग्ने कम्पनीले जनाएको छ।