चर्चित प्रविधि ब्राण्ड साओमीले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टवाच ‘साओमी वाच एस५ ४६ एमएम’ (Xiaomi Watch S5 46mm) औपचारिक रूपमा बिक्री सुरु गरेको छ। उत्कृष्ट बनावट, लामो ब्याट्री समय, स्वास्थ्य निगरानी तथा खेलकुदसम्बन्धी उपयोगी सुविधाहरूका साथ यो स्मार्टवाच बजारमा ल्याइएको हो।
डिस्प्ले र डिजाइन
साओमी वाच एस५ मा १.४८ इन्चको एमोलेड (AMOLED) डिस्प्ले दिइएको छ। यसको रिजोलुसन ४८०×४८० पिक्सेल र पिक्सेल डेन्सिटी ३२३ पीपीआई (PPI) रहेको छ। घामको कडा प्रकाशमा पनि सहजै दृश्य देख्न सकिने गरी यसमा २५०० निट्ससम्मको पिक ब्राइटनेस उपलब्ध गराइएको छ।
स्टेनलेस स्टिलको प्रिमियम फ्रेममा तयार पारिएको यो घडीमा विभिन्न शैलीका बेजेल तथा स्ट्र्यापहरू फेर्न सकिने विकल्प रहेको छ। करिब ४६ ग्राम तौल भएकाले यसलाई लामो समयसम्म नाडीमा लगाउन हलुका र सहज हुनेछ।
ब्याट्री र पर्फर्मेन्स
यस स्मार्टवाचमा रहेको ८१ मेगाहर्जको ब्याट्रीले सामान्य प्रयोगमा एकपटक पूर्ण रूपमा चार्ज गर्दा अधिकतम २१ दिनसम्मको ब्याकअप दिने दाबी गरिएको छ। यसले गर्दा बारम्बार चार्ज गरिरहनुपर्ने झन्झटबाट प्रयोगकर्तालाई मुक्ति मिल्नेछ।
हेल्थ तथा फिटनेस फिचरहरू
स्वास्थ्य निगरानीका लागि यस वाचमा अत्याधुनिक सेन्सर र एल्गोरिदम प्रयोग गरिएको छ। जसको मद्दतले मुटुको धड्कन (Heart Rate), रगतमा अक्सिजनको मात्रा (SpO2), र निद्राको अवस्था सजिलै मापन गर्न सकिन्छ। प्रयोगकर्ताले आफ्नो निद्राको हप्तावारी तथा मासिक विश्लेषण प्रतिवेदन समेत प्राप्त गर्न सक्नेछन्।
खेलकुद तथा फिटनेस पारखीका लागि यसमा १५० भन्दा बढी एक्सरसाइज र स्पोर्ट्स मोडहरू समावेश छन्। साथै सटीक लोकेसन ट्र्याकिङका लागि डुअल ब्यान्ड ५-सिस्टम जीएनएसएस (GNSS) र साइकल यात्राका क्रममा स्मार्टफोनसँग जोडिने रियल-टाइम ड्यासबोर्ड सुविधा दिइएको छ।
यसमा रहेको नयाँ ‘प्यासन मोड’ (Passion Mode) ले ताली बजाएको, हात हल्लाएको वा मुठ्ठी कसेको जस्ता गतिविधिहरू पहिचान गर्न सक्छ। साथै, यसले क्यालोरी खपत, मुटुको धड्कन र व्यायामसम्बन्धी विवरणको अभिलेख राख्दछ।
कनेक्टिभिटी र मूल्य
अन्य फिचरहरूमा ब्लुटुथ ५.४, एनएफसी फाइभ टीएम (NFC 5TM) र वाटर रेसिस्टेन्स क्षमता समावेश छन्। आधुनिक जीवनशैली, स्वास्थ्य ट्र्याकिङ र सक्रिय खेलकुद गतिविधिहरूका लागि यो वाच उत्कृष्ट रोजाइ बन्न सक्छ। नेपाली बजारमा साओमी वाच एस५ ४६ एमएमको मूल्य ३९,९९९ रुपैयाँ निर्धारण गरिएको छ।