साओमीले नेपाली प्रयोगकर्ताहरूका लागि आफ्नो नयाँ स्मार्टवाच शृङ्खला 'रेड्मी वाच सिक्स' (Redmi Watch 6) औपचारिक रूपमा सार्वजनिक गरेको छ। यस सिरिजअन्तर्गत साओमीले रेड्मी वाच-६, रेड्मी वाच सिक्स लाइट र रेड्मी वाच सिक्स एक्टिभ गरी तीनवटा फरक मोडेलहरू नेपाली बजारमा ल्याएको हो।
रेड्मी वाच ६: प्रिमियम फिचर र २४ दिनको ब्याट्री
यस सिरिजको मुख्य आकर्षणको रूपमा रहेको रेड्मी वाच ६ मा २.०७ इन्चको एमोलेड डिस्प्ले दिइएको छ, जसको उच्चतम ब्राइटनेस २,००० निट्ससम्म पुग्छ। प्रिमियम आल्मुनियम एलोय फ्रेममा तयार पारिएको यो घडीलाई दुईवटा बटनमार्फत सजिलै नियन्त्रण गर्न सकिन्छ। सटिक लोकेसन ट्र्याकिङका लागि यसमा 'Dual L1 5-system GNSS' प्रविधि समावेश छ।
स्वास्थ्य निगरानीका विभिन्न सुविधाहरूसहित आएको यो स्मार्टवाच ५ एटीएम (5 ATM) सम्म पानी प्रतिरोधी छ। सामान्य प्रयोग गर्दा यसको ब्याट्री एकपटकको फुल चार्जमा २४ दिनसम्म टिक्ने दाबी कम्पनीको छ। ग्लेसियर ब्लु, अब्सिडियन ब्ल्याक र सिल्भर ग्रे रङमा उपलब्ध यस मोडेलको मूल्य नेपालमा २० हजार ४९९ रुपैयाँ कायम गरिएको छ।
रेड्मी वाच ६ लाइट
यस सिरिजको अर्को मोडेल रेड्मी वाच ६ लाइटमा १,५०० निट्स ब्राइटनेसयुक्त १.९६ इन्चको एमोलेड डिस्प्ले रहेको छ। ब्लुटुथ कलिङ सुविधा भएको यस घडीमा १५० भन्दा बढी स्पोर्ट्स मोड र व्यावसायिक स्विमिङ मोडहरू उपलब्ध छन्।
यसमा ४७० एमएएच क्षमताको ब्याट्री दिइएको छ, जसले सामान्य प्रयोगमा १८ दिनसम्मको ब्याकअप प्रदान गर्छ। यसबाहेक ९ प्रकारका गति मापन सेन्सर, हर्ट रेट सेन्सर र स्याटेलाइटमा आधारित लोकेसन ट्र्याकिङ प्रणाली यसका प्रमुख विशेषता हुन्। ५ एटीएम वाटर रेसिस्टेन्स रहेको यो स्मार्टवाच ब्ल्याक र स्टिल ग्रे रङमा १४ हजार ९९९ रुपैयाँमा खरिद गर्न सकिन्छ।
रेड्मी वाच ६ एक्टिभ
रेड्मी वाच ६ सिरिजको सबैभन्दा सस्तो र किफायती मोडेल 'एक्टिभ' हो, जसको मूल्य नेपालमा १० हजार ९९९ रुपैयाँ निर्धारण गरिएको छ। यो घडी मात्र ९.९ मिलिमिटर पातलो र निकै हलुका डिजाइनमा आएको छ। यसमा १,२०० निट्स ब्राइटनेस भएको १.८५ इन्चको एमोलेड स्क्रिन रहेको छ।
धुलो र पानीबाट बचाउन यसमा आईपी६८ (IP68) रेटिङ दिइएको छ। ब्लुटुथ कलिङ सपोर्ट गर्ने यस घडीले २४ सै घण्टा मुटुको धड्कन, रगतमा अक्सिजनको मात्रा (SpO2) र स्ट्रेस लेभल ट्र्याक गर्दछ। यसको ब्याट्रीले पनि सामान्य प्रयोगमा १८ दिनसम्मको ब्याकअप दिन्छ। यो घडी मिडनाइट ब्याक, म्याट सिल्भर र सनसेट ओरेन्ज रङमा उपलब्ध छ।
साओमीका यी तीनवटै मोडेलका नयाँ स्मार्टवाचहरू नेपालभरका आधिकारिक विक्रेताहरूमार्फत खरिदका लागि उपलब्ध भइसकेका छन्।