पछिल्लो समयमा नेपालमा सूचना प्रविधि (आईटी) पढ्ने होडबाजी नै चलेको छ । देश डिजिटलाइजेसनतर्फ अघि बढ्दै जाँदा आईटी क्षेत्रलाई भविष्यको सुरक्षित करियरका रूपमा हेरिएको छ । त्यसैले युवा वर्गमा यसप्रति ठुलो आकर्षण देखिएको छ । ठुला सपना बोकेर हजारौँ युवाहरू वर्षेनी बीएससी सीएसआईटी, बीआईटी, बीसीए जस्ता शैक्षिक कार्यक्रममा भर्ना हुन्छन् ।
म पनि ठुला सपनाको भारी बोकी बीएससी सीएसआईटी जस्तो प्रचलित कार्यक्रममा भर्ना भएँ । नयाँ ठाउँ, नयाँ वातावरण र नयाँ कलेजबिच मनमा अनेकौँ रहरहरू थिए- आधुनिक प्रविधि सिक्ने, जटिल सफ्टवेयरहरू निर्माण गर्ने र डिग्री सकिएपछि एउटा दक्ष सफ्टवेयर इन्जिनियर बनेर निस्कने ।
तर, आज केही सेमेस्टर पार गरिसक्दा मलाई एउटा तीतो सत्यले पिरोलिरहेको छ: भविष्यका लागि पढ्न होमिएको त्यो कलिलो विद्यार्थी आज केवल परीक्षाका लागि मात्र पढिरहेको छ र इतिहास बनिसकेको पुराना पाठ्यक्रममा अल्झिरहेको छ ।
आमाबुबा गाउँमा "मेरो छोरो आईटी पढ्दै छ" भनेर छाती फुलाउँछन् । तर यता छोरो भने भद्रगोल प्रणालीसँग लडिरहेको छ । जहाँ एउटा रेजुमीेमा शैक्षिक योग्यताका चार शब्द लेख्नका लागि मात्र चार वर्ष खर्चनुपर्ने रहेछ ।
बाहिरबाट हेर्दा ओहो आईटी ! पैसाको भकारी ! जस्तो लागे पनि भित्रको वास्तविकता र चुनौती भने केवल भोग्नेलाई मात्र थाहा हुन्छ । मैले भोगिरहेका र हामी सबैले महसुस गरेका केही तीता यथार्थहरू यहाँ राखेको छु:
परीक्षाका लागि कण्ठ, भविष्यका लागि शून्य
कलेजमा पढाइ सीपभन्दा पनि 'मार्क्स' मा बढी केन्द्रित हुन्छ । कक्षामा बस्दा मलाई माकुराको जालो लागिसकेको पुरानो पाठ्यक्रमले गिज्याइरहेको महसुस हुन्छ । कलेज जाने, थ्योरी रट्ने, महत्त्वपूर्ण प्रश्नहरू खोज्ने, उत्तर कण्ठ गर्ने र परीक्षामा लेखेर आउने, अनि त्यसपछि सबै बिर्सने । यही चक्र चार वर्षसम्म चलिरहन्छ ।
म आफैँलाई सोध्छु, के म यही चक्रमा घुम्दाघुम्दै कतै किचिने त होइन ? के कलेजकै भरमा म गुगल वा माइक्रोसफ्ट जस्ता अन्तर्राष्ट्रिय कम्पनी वा नेपालकै कुनै स्तरीय टेक हाउसमा टिक्न सक्छु ? यो प्रश्नले मलाई परीक्षाको नतिजाभन्दा बढी डर लाग्छ ।
पुरानो पाठ्यक्रम र वास्तविक उद्योगबिचको विशाल खाडल
नेपालका अधिकांश विश्वविद्यालयहरूको पाठ्यक्रम दशकौँ पुरानो छ । प्रविधि हरेक ६ महिनामा परिवर्तन हुन्छ, तर हाम्रो पाठ्यक्रम परिवर्तन हुन वर्षौँ लाग्छ । धेरैजसो विषयहरूमा अझै पनि सैद्धान्तिक ज्ञानलाई बढी प्राथमिकता दिइन्छ भने व्यावहारिक सीप विकासमा पर्याप्त ध्यान दिइँदैन ।
उदाहरणका लागि, प्रोग्रामिङका आधारभूत अवधारणा महत्त्वपूर्ण भए पनि आधुनिक प्रविधिहरू जस्तै: आर्टिफिसियल इन्टेलिजेन्स, क्लाउड कम्प्युटिङ, डेटा साइन्स र साइबर सुरक्षा जस्ता क्षेत्रमा पर्याप्त गहिराइमा पढाइ हुँदैन ।
विश्वभर आईटी क्षेत्र द्रुत गतिमा परिवर्तन भइरहेको छ । तर पाठ्यक्रम अपडेटेड नहुँदा विद्यार्थीले कलेजमा सिकेको ज्ञान र उद्योगमा आवश्यक सीपबीच ठुलो खाडल देखिन्छ । विद्यार्थीहरू अझै पनि बजारमा काम नलाग्ने पुराना प्रोग्रामिङ भाषाहरू र थ्योरी कण्ठ गर्न बाध्य छन् ।
दुई जिन्दगीबीचको संघर्ष
कलेजमा मात्र भर पर्ने व्यक्ति बेरोजगार हुन्छ भन्ने कुरा सबैलाई थाहा छ र मलाई पनि त्यही डर छ । मेरो एउटा कलेजको जीवनले मात्र यो प्रतिस्पर्धाको सामना गर्न सक्दैन । जसरी ‘स्पाइडरम्यान’ चलचित्रमा पिटर पार्करको दुईवटा जीवन एकसाथ चल्छ, त्यसरी नै म पनि दुईवटा जिन्दगी बाँचिरहन बाध्य छु ।
एउटा जिन्दगी कलेजमा बित्छ, जहाँ कलेज नआउनेलाई प्रयोगात्मक मार्क्स दिइन्न भन्ने धम्की सहँदै थ्योरी पढ्नुपर्छ र हात नथाकुन्जेल असाइनमेन्ट लेख्नुपर्छ । अर्को जिन्दगीमा म युट्युब र अनलाइन कोर्सको सहाराले वास्तविक संसारमा चाहिने प्रोग्रामिङ सिक्छु ।
साँचो भन्नुपर्दा, मैले ४ लाख खर्च गरेर कलेजको डिग्री किनिरहेको छु र वास्तविक ज्ञान भने इन्टरनेटबाट सित्तैमा लिइरहेको छु । यी दुई जिन्दगी सँगै लैजानु निकै तनावपूर्ण हुन्छ ।
कामको लागि अनुभव र अनुभवको लागि काम
आईटी विद्यार्थीका लागि इन्टर्नशिप अत्यन्त महत्त्वपूर्ण चरण हो । किनकि यसले वास्तविक कार्य वातावरण बुझ्न मद्दत गर्छ । तर नेपालमा इन्टर्नशिपका अवसरहरू सीमित छन् । धेरै कम्पनीहरू नयाँ विद्यार्थीलाई अवसर दिन हिचकिचाउँछन् ।
अझ चुनौतीपूर्ण कुरा के छ भने, धेरै कम्पनीहरूले इन्टर्नशिपका लागि पनि "अनुभव" (Experience) माग्छन् । भर्खर सिक्दै गरेको विद्यार्थीले अनुभव कहाँबाट ल्याउने ? न कलेजले उचित इन्टर्नशिपको व्यवस्था गर्छ, न उद्योगले नयाँलाई सिकाउने हिम्मत गर्छ । कतिपय ठाउँमा इन्टर्नशिप पाए पनि बिना तलब वा न्यून पारिश्रमिकमा काम गर्नुपर्ने बाध्यता छ । अझ कतिपय कम्पनीले त इन्टर्नहरूलाई 'निःशुल्क मजदुर' को रूपमा हेर्छन् र काम पाउनकै लागि पनि सोर्स–फोर्स धाउनुपर्ने अवस्था छ ।
डिजिटल विषय, तर प्रणाली 'एनालग'
मलाई सबैभन्दा अचम्म लाग्ने कुरा त के हो भने, म सफ्टवेयर, डेटावेस र एआईका बारेमा पढ्छु । तर कलेजमा भने हातले लेखेका असाइनमेन्ट र नोटहरू बुझाउन बाध्य हुनुपर्छ । परीक्षा फर्म भर्नसमेत घण्टौँ लाइनमा बस्नुपर्ने बाध्यता छ । यसको सुरुवात प्रवेश परीक्षादेखि नै हुन्छ ।
इन्जिनियरिङका प्रवेश परीक्षाहरू कम्प्युटरमा आधारित (सीबीई) मोडेलमा भइसक्दा पनि हामी अझै ओएमएआर सिटमा कालो मसी भर्दै बसिरहेका छौँ । यो कस्तो विडम्बना हो, जहाँ कलेजको नाममै प्रविधि जोडिएको छ तर त्यहाँ प्रविधिको प्रयोग शून्य छ । बाहिरी संसार तीव्र गतिमा अघि बढिरहेको छ । तर हाम्रो शैक्षिक प्रणाली यति सुस्त छ कि कहिलेकाहीँ मलाई आफ्नो महत्त्वपूर्ण समय खेर गइरहेको जस्तो लाग्छ।
करियर मार्गदर्शनको अभाव
आईटी क्षेत्र आफैँमा निकै विशाल छ । वेब डेभलपमेन्ट, एप डेभलपमेन्ट, डेटा साइन्स, साइबर सुरक्षा जस्ता धेरै क्षेत्रहरू छन् । तर धेरै विद्यार्थीलाई कुन क्षेत्रमा आफ्नो करियर केन्द्रित गर्ने भन्ने कुरामा स्पष्ट मार्गदर्शन छैन । कलेजहरूमा करियर काउन्सिलिङ वा मेन्टरशिप कार्यक्रमहरू नहुँदा विद्यार्थीहरू आफैँ अन्धकारमा बाटो खोज्दै हिँड्न बाध्य छन्, जसले गर्दा समय र ऊर्जा दुवै खेर गइरहेको छ ।
प्रतिभा विदेशिने प्रवृत्ति
मैले आफ्नै आँखा अगाडि धेरै प्रतिभाशाली साथीहरूलाई देखेको छु, जो सुरुका दिनमा नेपालमै केही गर्ने अदम्य उत्साह बोकेर हिँड्थे । तर यहाँको प्रणालीबाट सहयोग नपाउँदा र भविष्य अनिश्चित देख्दा बिस्तारै उनीहरूको जोस मरेर जान्छ । अन्त्यमा, कुनै विकल्प नदेखेपछि उनीहरू एउटै निष्कर्षमा पुग्छन्— "नेपालमा केही हुन्न, अब विदेश नै जानुपर्छ ।" यसरी दक्ष जनशक्ति बाहिरिनु देशका लागि ठुलो क्षति हो ।
अर्कोतर्फ, हाम्रा उत्कृष्ट आईटी विद्यार्थीहरू राम्रो अवसरको खोजीमा स्वेच्छाले पनि विदेशिन्छन् । नेपालमा आईटी उद्योगको विस्तार भइरहे पनि अन्तर्राष्ट्रिय बजारको तुलनामा यहाँको पारिश्रमिक र सुविधा निकै कम छ । यदि हामीले समयमै यस्ता प्रतिभालाई स्वदेशमै टिकाउन सकेनौँ भने हामी सधैँ प्रविधिमा परनिर्भर रहनुपर्नेछ ।
अबको बाटो के त ?
एक आईटी विद्यार्थीको रूपमा यो लेख कसैलाई दोष लगाउन लेखेको होइन । नेपालमा आईटी पढिरहेका हजारौँ विद्यार्थीको वास्तविक धरातललाई उजागर गर्ने प्रयास गरेको हुँ । मेरो उद्देश्य समस्या देखाउनु मात्र नभई एउटा सक्षम र प्रतिस्पर्धी शैक्षिक वातावरण निर्माणका लागि रचनात्मक बहस सुरु गर्नु हो । मेरो विचारमा हाम्रो आईटी शिक्षालाई सुधार गर्न यी चारवटा परिवर्तन कोसेढुङ्गा साबित हुन सक्छन्:
१. समयसापेक्ष पाठ्यक्रम: विश्वविद्यालयले बजारको माग अनुसार पाठ्यक्रमलाई तुरुन्तै परिमार्जन गर्नुपर्छ।
२. प्रयोगात्मक सिकाइ: कलेजहरूले ह्याकाथन , कोडिङ प्रतियोगिता र वास्तविक प्रोजेक्ट वर्कलाई अनिवार्य बनाउनुपर्छ ।
३. साझेदारी: शैक्षिक संस्था र आईटी कम्पनीहरूबिच बलियो सहकार्य गरी इन्टर्नशिप र जब प्लेसमेन्टलाई सहज बनाउनुपर्छ ।
४. युवामैत्री नीति: युवाहरूलाई नेपालमै केही गर्न प्रोत्साहन मिल्ने खालका नीति र लगानीको वातावरण सिर्जना गर्नुपर्छ।
नेपालमा आईटी पढ्ने विद्यार्थीको संख्या बढ्नु सकारात्मक संकेत हो । तर संख्या मात्र पर्याप्त छैन; उनीहरूलाई गुणस्तरीय शिक्षा, व्यावहारिक अनुभव र पर्याप्त अवसर उपलब्ध गराउनु उत्तिकै आवश्यक छ । यदि शिक्षा प्रणाली, उद्योग र नीति–निर्माताबिच सहकार्य हुन सकेमा मात्र नेपालका आईटी विद्यार्थीले सामना गरिरहेका चुनौतीहरू कम गर्न र देशको डिजिटल भविष्यलाई बलियो बनाउन सकिन्छ ।
(लेखक खनाल केन्द्रीय प्रविधि क्याम्पस,धरानमा आईटी विषय अध्ययनरत छन् ।)