नेपालको आईटी शिक्षा: थोत्रो प्रणाली र आधुनिक सपनाबिचको लडाइँ - Kinbech Shop
Technology Blog News

नेपालको आईटी शिक्षा: थोत्रो प्रणाली र आधुनिक सपनाबिचको लडाइँ

samyam Apr 18, 2026 180 views
नेपालको आईटी शिक्षा: थोत्रो प्रणाली र आधुनिक सपनाबिचको लडाइँ

पछिल्लो समयमा नेपालमा सूचना प्रविधि (आईटी) पढ्ने होडबाजी नै चलेको छ । देश डिजिटलाइजेसनतर्फ अघि बढ्दै जाँदा आईटी क्षेत्रलाई भविष्यको सुरक्षित करियरका रूपमा हेरिएको छ । त्यसैले युवा वर्गमा यसप्रति ठुलो आकर्षण देखिएको छ । ठुला सपना बोकेर हजारौँ युवाहरू वर्षेनी बीएससी सीएसआईटी, बीआईटी, बीसीए जस्ता शैक्षिक कार्यक्रममा भर्ना हुन्छन् ।

म पनि ठुला सपनाको भारी बोकी बीएससी सीएसआईटी जस्तो प्रचलित कार्यक्रममा भर्ना भएँ । नयाँ ठाउँ, नयाँ वातावरण र नयाँ कलेजबिच मनमा अनेकौँ रहरहरू थिए- आधुनिक प्रविधि सिक्ने, जटिल सफ्टवेयरहरू निर्माण गर्ने र डिग्री सकिएपछि एउटा दक्ष सफ्टवेयर इन्जिनियर बनेर निस्कने ।

 

तर, आज केही सेमेस्टर पार गरिसक्दा मलाई एउटा तीतो सत्यले पिरोलिरहेको छ: भविष्यका लागि पढ्न होमिएको त्यो कलिलो विद्यार्थी आज केवल परीक्षाका लागि मात्र पढिरहेको छ र इतिहास बनिसकेको पुराना पाठ्यक्रममा अल्झिरहेको छ ।

आमाबुबा गाउँमा "मेरो छोरो आईटी पढ्दै छ" भनेर छाती फुलाउँछन् । तर यता छोरो भने भद्रगोल प्रणालीसँग लडिरहेको छ । जहाँ एउटा रेजुमीेमा शैक्षिक योग्यताका चार शब्द लेख्नका लागि मात्र चार वर्ष खर्चनुपर्ने रहेछ ।

बाहिरबाट हेर्दा ओहो आईटी ! पैसाको भकारी ! जस्तो लागे पनि भित्रको वास्तविकता र चुनौती भने केवल भोग्नेलाई मात्र थाहा हुन्छ । मैले भोगिरहेका र हामी सबैले महसुस गरेका केही तीता यथार्थहरू यहाँ राखेको छु:

परीक्षाका लागि कण्ठ, भविष्यका लागि शून्य

कलेजमा पढाइ सीपभन्दा पनि 'मार्क्स' मा बढी केन्द्रित हुन्छ । कक्षामा बस्दा मलाई माकुराको जालो लागिसकेको पुरानो पाठ्यक्रमले गिज्याइरहेको महसुस हुन्छ । कलेज जाने, थ्योरी रट्ने, महत्त्वपूर्ण प्रश्नहरू खोज्ने, उत्तर कण्ठ गर्ने र परीक्षामा लेखेर आउने, अनि त्यसपछि सबै बिर्सने । यही चक्र चार वर्षसम्म चलिरहन्छ ।

म आफैँलाई सोध्छु, के म यही चक्रमा घुम्दाघुम्दै कतै किचिने त होइन ? के कलेजकै भरमा म गुगल वा माइक्रोसफ्ट जस्ता अन्तर्राष्ट्रिय कम्पनी वा नेपालकै कुनै स्तरीय टेक हाउसमा टिक्न सक्छु ? यो प्रश्नले मलाई परीक्षाको नतिजाभन्दा बढी डर लाग्छ ।

पुरानो पाठ्यक्रम र वास्तविक उद्योगबिचको विशाल खाडल

नेपालका अधिकांश विश्वविद्यालयहरूको पाठ्यक्रम दशकौँ पुरानो छ । प्रविधि हरेक ६ महिनामा परिवर्तन हुन्छ, तर हाम्रो पाठ्यक्रम परिवर्तन हुन वर्षौँ लाग्छ । धेरैजसो विषयहरूमा अझै पनि सैद्धान्तिक ज्ञानलाई बढी प्राथमिकता दिइन्छ भने व्यावहारिक सीप विकासमा पर्याप्त ध्यान दिइँदैन ।

उदाहरणका लागि, प्रोग्रामिङका आधारभूत अवधारणा महत्त्वपूर्ण भए पनि आधुनिक प्रविधिहरू जस्तै: आर्टिफिसियल इन्टेलिजेन्स, क्लाउड कम्प्युटिङ, डेटा साइन्स र साइबर सुरक्षा जस्ता क्षेत्रमा पर्याप्त गहिराइमा पढाइ हुँदैन ।

विश्वभर आईटी क्षेत्र द्रुत गतिमा परिवर्तन भइरहेको छ । तर पाठ्यक्रम अपडेटेड नहुँदा विद्यार्थीले कलेजमा सिकेको ज्ञान र उद्योगमा आवश्यक सीपबीच ठुलो खाडल देखिन्छ । विद्यार्थीहरू अझै पनि बजारमा काम नलाग्ने पुराना प्रोग्रामिङ भाषाहरू र थ्योरी कण्ठ गर्न बाध्य छन् ।

दुई जिन्दगीबीचको संघर्ष

कलेजमा मात्र भर पर्ने व्यक्ति बेरोजगार हुन्छ भन्ने कुरा सबैलाई थाहा छ र मलाई पनि त्यही डर छ । मेरो एउटा कलेजको जीवनले मात्र यो प्रतिस्पर्धाको सामना गर्न सक्दैन । जसरी ‘स्पाइडरम्यान’ चलचित्रमा पिटर पार्करको दुईवटा जीवन एकसाथ चल्छ, त्यसरी नै म पनि दुईवटा जिन्दगी बाँचिरहन बाध्य छु ।

एउटा जिन्दगी कलेजमा बित्छ, जहाँ कलेज नआउनेलाई प्रयोगात्मक मार्क्स दिइन्न भन्ने धम्की सहँदै थ्योरी पढ्नुपर्छ र हात नथाकुन्जेल असाइनमेन्ट लेख्नुपर्छ । अर्को जिन्दगीमा म युट्युब र अनलाइन कोर्सको सहाराले वास्तविक संसारमा चाहिने प्रोग्रामिङ सिक्छु ।

साँचो भन्नुपर्दा, मैले ४ लाख खर्च गरेर कलेजको डिग्री किनिरहेको छु र वास्तविक ज्ञान भने इन्टरनेटबाट सित्तैमा लिइरहेको छु । यी दुई जिन्दगी सँगै लैजानु निकै तनावपूर्ण हुन्छ ।

कामको लागि अनुभव र अनुभवको लागि काम

आईटी विद्यार्थीका लागि इन्टर्नशिप अत्यन्त महत्त्वपूर्ण चरण हो । किनकि यसले वास्तविक कार्य वातावरण बुझ्न मद्दत गर्छ । तर नेपालमा इन्टर्नशिपका अवसरहरू सीमित छन् । धेरै कम्पनीहरू नयाँ विद्यार्थीलाई अवसर दिन हिचकिचाउँछन् ।

अझ चुनौतीपूर्ण कुरा के छ भने, धेरै कम्पनीहरूले इन्टर्नशिपका लागि पनि "अनुभव" (Experience) माग्छन् । भर्खर सिक्दै गरेको विद्यार्थीले अनुभव कहाँबाट ल्याउने ? न कलेजले उचित इन्टर्नशिपको व्यवस्था गर्छ, न उद्योगले नयाँलाई सिकाउने हिम्मत गर्छ । कतिपय ठाउँमा इन्टर्नशिप पाए पनि बिना तलब वा न्यून पारिश्रमिकमा काम गर्नुपर्ने बाध्यता छ । अझ कतिपय कम्पनीले त इन्टर्नहरूलाई 'निःशुल्क मजदुर' को रूपमा हेर्छन् र काम पाउनकै लागि पनि सोर्स–फोर्स धाउनुपर्ने अवस्था छ ।

डिजिटल विषय, तर प्रणाली 'एनालग'

मलाई सबैभन्दा अचम्म लाग्ने कुरा त के हो भने, म सफ्टवेयर, डेटावेस र एआईका बारेमा पढ्छु । तर कलेजमा भने हातले लेखेका असाइनमेन्ट र नोटहरू बुझाउन बाध्य हुनुपर्छ । परीक्षा फर्म भर्नसमेत घण्टौँ लाइनमा बस्नुपर्ने बाध्यता छ । यसको सुरुवात प्रवेश परीक्षादेखि नै हुन्छ ।

इन्जिनियरिङका प्रवेश परीक्षाहरू कम्प्युटरमा आधारित (सीबीई) मोडेलमा भइसक्दा पनि हामी अझै ओएमएआर सिटमा कालो मसी भर्दै बसिरहेका छौँ । यो कस्तो विडम्बना हो, जहाँ कलेजको नाममै प्रविधि जोडिएको छ तर त्यहाँ प्रविधिको प्रयोग शून्य छ । बाहिरी संसार तीव्र गतिमा अघि बढिरहेको छ । तर हाम्रो शैक्षिक प्रणाली यति सुस्त छ कि कहिलेकाहीँ मलाई आफ्नो महत्त्वपूर्ण समय खेर गइरहेको जस्तो लाग्छ।

करियर मार्गदर्शनको अभाव

आईटी क्षेत्र आफैँमा निकै विशाल छ । वेब डेभलपमेन्ट, एप डेभलपमेन्ट, डेटा साइन्स, साइबर सुरक्षा जस्ता धेरै क्षेत्रहरू छन् । तर धेरै विद्यार्थीलाई कुन क्षेत्रमा आफ्नो करियर केन्द्रित गर्ने भन्ने कुरामा स्पष्ट मार्गदर्शन छैन । कलेजहरूमा करियर काउन्सिलिङ वा मेन्टरशिप कार्यक्रमहरू नहुँदा विद्यार्थीहरू आफैँ अन्धकारमा बाटो खोज्दै हिँड्न बाध्य छन्, जसले गर्दा समय र ऊर्जा दुवै खेर गइरहेको छ ।

प्रतिभा विदेशिने प्रवृत्ति

मैले आफ्नै आँखा अगाडि धेरै प्रतिभाशाली साथीहरूलाई देखेको छु, जो सुरुका दिनमा नेपालमै केही गर्ने अदम्य उत्साह बोकेर हिँड्थे । तर यहाँको प्रणालीबाट सहयोग नपाउँदा र भविष्य अनिश्चित देख्दा बिस्तारै उनीहरूको जोस मरेर जान्छ । अन्त्यमा, कुनै विकल्प नदेखेपछि उनीहरू एउटै निष्कर्षमा पुग्छन्— "नेपालमा केही हुन्न, अब विदेश नै जानुपर्छ ।" यसरी दक्ष जनशक्ति बाहिरिनु देशका लागि ठुलो क्षति हो ।

अर्कोतर्फ, हाम्रा उत्कृष्ट आईटी विद्यार्थीहरू राम्रो अवसरको खोजीमा स्वेच्छाले पनि विदेशिन्छन् । नेपालमा आईटी उद्योगको विस्तार भइरहे पनि अन्तर्राष्ट्रिय बजारको तुलनामा यहाँको पारिश्रमिक र सुविधा निकै कम छ । यदि हामीले समयमै यस्ता प्रतिभालाई स्वदेशमै टिकाउन सकेनौँ भने हामी सधैँ प्रविधिमा परनिर्भर रहनुपर्नेछ ।

अबको बाटो के त ?

एक आईटी विद्यार्थीको रूपमा यो लेख कसैलाई दोष लगाउन लेखेको होइन । नेपालमा आईटी पढिरहेका हजारौँ विद्यार्थीको वास्तविक धरातललाई उजागर गर्ने प्रयास गरेको हुँ । मेरो उद्देश्य समस्या देखाउनु मात्र नभई एउटा सक्षम र प्रतिस्पर्धी शैक्षिक वातावरण निर्माणका लागि रचनात्मक बहस सुरु गर्नु हो । मेरो विचारमा हाम्रो आईटी शिक्षालाई सुधार गर्न यी चारवटा परिवर्तन कोसेढुङ्गा साबित हुन सक्छन्:

१. समयसापेक्ष पाठ्यक्रम: विश्वविद्यालयले बजारको माग अनुसार पाठ्यक्रमलाई तुरुन्तै परिमार्जन गर्नुपर्छ।
२. प्रयोगात्मक सिकाइ: कलेजहरूले ह्याकाथन , कोडिङ प्रतियोगिता र वास्तविक प्रोजेक्ट वर्कलाई अनिवार्य बनाउनुपर्छ ।
३. साझेदारी: शैक्षिक संस्था र आईटी कम्पनीहरूबिच बलियो सहकार्य गरी इन्टर्नशिप र जब प्लेसमेन्टलाई सहज बनाउनुपर्छ ।
४. युवामैत्री नीति: युवाहरूलाई नेपालमै केही गर्न प्रोत्साहन मिल्ने खालका नीति र लगानीको वातावरण सिर्जना गर्नुपर्छ।

नेपालमा आईटी पढ्ने विद्यार्थीको संख्या बढ्नु सकारात्मक संकेत हो । तर संख्या मात्र पर्याप्त छैन; उनीहरूलाई गुणस्तरीय शिक्षा, व्यावहारिक अनुभव र पर्याप्त अवसर उपलब्ध गराउनु उत्तिकै आवश्यक छ । यदि शिक्षा प्रणाली, उद्योग र नीति–निर्माताबिच सहकार्य हुन सकेमा मात्र नेपालका आईटी विद्यार्थीले सामना गरिरहेका चुनौतीहरू कम गर्न र देशको डिजिटल भविष्यलाई बलियो बनाउन सकिन्छ ।

(लेखक खनाल केन्द्रीय प्रविधि क्याम्पस,धरानमा आईटी विषय अध्ययनरत छन् ।)

Related Articles

KinbechShop
Login / Register Marketplace New Post Free Ad Sell with AI Chat New Post Requirement Jobs B2B Wholesale Local Shops Digital Products Game Topup Services Tech News Mobile Tools Free Nepali Typing Free Business Directory Robotics & Electric Components Kabaadi Rate Board Game Tournament Buyer Requirements More Tools Date Converter Land Converter EMI Calculator Tax Calculator
म के सहयोग गर्न सक्छु?
👋 नमस्ते! के खोज्दै हुनुहुन्छ?Hi! How can I help you today?
KinbechShop सहायकAssistant · सधैं अनलाइन